काठमाडौं– सरकारले नेत्रबहादुर चन्द विप्लव नेतृत्वको नेकपालाई आर्थिक तथा भौतिक सहयोग गर्ने जो–कोहीलाई कारबाही गर्ने घोषणा गरेको छ । सो समूहले जबरजस्ती चन्दा मागे तत्काल प्रहरीलाई खबर गर्न पनि गृह मन्त्रालयले आग्रह गरेको छ ।
विप्लव समूहमाथि सरकार आक्रामक बन्दै गएको छ । सो समूहलाई प्रतिबन्ध लगाएको दुई साताभित्रै सो समूहका शीर्ष नेता हेमन्तप्रकाश वलीसहित ९ जनालाई काभ्रेबाट पक्राउ गरेको छ । सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
आइतबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी विप्लव समूहको आपराधिक तथा विध्वंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न र सहयोग गर्ने व्यक्ति, संस्था वा समूहलाई समेत प्रचलित कानुनअनुसार कारबाही गर्ने घोषणा गरेको छ ।
मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता समूहहरुलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न एवं त्रास, धम्की र प्रलोभनमा नपर्न तथा यदि कोही कसैबाट जबरजस्ती आर्थिक सहयोग माग गर्ने धम्की दिने कार्य भए गरेमा सो को सूचना तत्काल नजिकको प्रहरी प्रशासनलाई दिन हुन अनुरोध छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।