कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालतले आइतबार पूर्वप्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई १० लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ ।
पाँच दिनअघि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक विष्टको गत शुक्रबार अदालतमा बयानपछि बहस सकिएको थियो ।
जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले एसपी विष्टलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । उनका अनुसार विष्टलाई यातनाविरुद्धको कसुरमा ६ लाख र सार्वजनिक न्यायविरुद्धको कसुरमा चार लाख ५० हजार रुपैयाँ गरी कुल १० लाख ५० हजार रुपैयाँ धरौटी सुनाइएको हो ।
धरौटी तिर्न नसके थुनामा राख्नू भन्ने आदेश भएको छ,’ स्रेस्तेदार अवस्थीले भने, ‘उक्त मुद्दामा प्रहरी नायव उपरीक्षक अंगुर जिसी अझै अदालतमा उपस्थित भएका छैनन् । सो मुद्दामा प्रतिवादी विष्टका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ र अधिवक्ताद्वय कृष्णदेव जोशी तथा आनन्दप्रसाद जोशीले बहस गरेका थिए ।
यसअघि दुवै मुद्दामा आरोपित प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसुरमा गत पुसको पहिलो साता उजुरी दिएका थिए ।
निर्मला हत्या प्रकरणमा प्रहरीको जिल्लादेखि केन्द्रसम्मको विशेष टोली अनुसन्धानमै छ । गत साउन १० गते साथीको घर गएकी निर्मलाको साउन ११ गते बिहान नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।