गणतन्त्र गाई कि त्रिशूल गरेर आएको होइन, जनमत संग्रह जनताको अधिकारको कुरा हो : प्रधानमन्त्री

काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनमत संग्रह जनताको अधिकारको कुरा भएको बताएका छन् । आइतबार प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय सिके राउतसँगको सहमतिबारे गलत चर्चा भएको बताए । 

‘जनमत संग्रह लोकतान्त्रिक मूल्य मान्यताको विषय हो, यो कुनै भयावह कुरा होइन,’ उनले भने, ‘यो जनताको अधिकारको कुरा हो, सार्वभौम सत्तासम्पन्न जनताको कुरा हो ।’

लोकतन्त्रमा जनमत संग्रह त्यज्य हुँदैन, ग्राह्य हुन्छ त्यसैले जनमत संग्रह के विषयमा कति वेला केका लागि भन्ने नहुने बताए । तर, सार्वभौमिकता र भौगोलिक अखण्डताको विषयमा कुनै राष्ट्रले जनमत संग्रहको कल्पना पनि गर्न नसक्ने बताए । राष्ट्र टुक्र्याउने विषयमा भने जनमत संग्रह हुनै नसक्ने दोहो¥याउँदै उनले सिके राउतसँग जनमत संग्रहको विषयमा कुनै सहमति नभएको प्रस्ट पारे । 

‘त्यो उहाँहरुको पहिलेकै माग हो,’ उनले भने, ‘अहिले हामीले जनताको अभिमतअनुसार चल्ने भनेका छौँ । अहिले जनताको अभिमत के ?’ उनले प्रश्न गर्दै भने, ‘हामीले त्यसैअनुसार चल्ने भनेका छौँ ।’ 

प्रतिपक्षी नेपाली कांग्रेसप्रति इंगित गर्दै ओलीले भने, ‘कमसेकम लोकतान्त्रिक अभियानका नेताहरूलाई थाहा हुनुपर्छ अहिलेको संरचना जनमतको अभिव्यक्ति हो ।’ ‘संसद् जनमतको सिर्जना हो, यो संविधान जनमतको आकांक्षा हो, सबै सरकार जनमतको आकांक्षा हो,’ उनले थपे, ‘जनमत भनेको के हो ? ७ सय ६१ वटा सरकार जनमत हो ।’

उनले संविधानसभा नै जनमत भएको बताउँदै संविधानसभाले बनाएको संविधान पनि जनमत रहेको बताए । संविधानबमोजिम गरिएको चुनाव र चुनाबबाट बनेको सरकार पनि जनमत भएको उनले प्रस्ट्याए ।
 
देश टुक्र्याउँछु भन्नेको एजेन्डा नै समाप्त पारेर मूलधारको राजनीतिमा ल्याउनुलाई राष्ट्रघात भनेर व्याख्या गरिएकोमा उनले असन्तुष्टि व्यक्त गरे ।   यो सहमति राष्ट्रका निम्ति खुसियालीको कुरा भएको भन्दै प्रधानमन्त्रीले एकपटक सहमति पढेर दीपावली गर्नसमेत आग्रह गरे । 



लोकतान्त्रिक पार्टी भनिएका पार्टीले नै फालिसकेको राजाको विषयमा जनमत संग्रहको कुरा गर्दा अनौठो लागेको बताउँदै प्रधानमन्त्रीले भने, ‘लोकतन्त्र र गणतन्त्र रगत बगाएर ल्याएको हो, गाई कि त्रिशूलबाट ल्याएको होइन ।’ 



  • प्रकाशित मिति : चैत १०, २०७५ आइतबार १७:३०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया