एजेन्सी— केही समययता दिल्लीमा नरेन्द्र मोदी सरकारको विरोध गरिरहेका तमिलनाडुका किसानहरुले बनारस लोकसभा सिटबाट प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध निर्वाचन लड्ने फैसला गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा वाराणसी तथा वडोदराबाट चुनाव लडेर दुवै ठाउँबाट जित दर्ज गरेका थिए । यसपटक उनी बनारसबाट निर्वाचन उठ्दै छन् ।
अर्कोतिर, तमिलनाडुबाट बनारस आएर निर्वाचन लड्ने फैसला गरेका १११ किसानका नेता पी. अय्याकन्नुले भने, ‘हामी ४ सय किसानले दिल्ली गएर १४० दिन विरेध प्रदर्शन गरेका थियौँ । २०१४ को निर्वाचनमा प्रधानमन्त्री मोदीले गरेको वाचा नै हाम्रो माग थियो ।’
त्यसैले उनीहरुले निर्वाचनका लागि भोट माग्दै हिँडेको र बनारसका गल्लीमा मागेर चुनाव खर्च उठाएको उनले बताएका छन् ।
पी. अय्याकन्नुले आफूहरुलाई कसैको पनि राजनीतिक समर्थन नभएको र मोदीविरुद्ध चुनाव जित्नै पर्छ भन्ने नसोचेको पनि बताएका छन् । उनले आफूहरु को र मोदी को हुन् भन्ने कुरा चाहिँ सबैलाई देखाउन निर्वाचनमा होमिएको बताएका छन् ।
यी किसानहरुले फरक फरक तरिकाले विरोध गरिरहेका छन् । यसअघि उनीहरुले खप्पर लिएर प्रदर्शन गरेका थिए र भनेका थिए कि ती खप्परहरु आत्महत्या गर्ने किसानका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।