‘हतियार बुझाऊ नत्र कसरी खोस्नुपर्छ सरकारलाई थाहा छ’

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले विप्लव समूहलाई सम्झाउँदा नमानेकाले सो समूहका नेता–कार्यकर्तालाई नियन्त्रणमा लिएको स्पष्टीकरण दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूहलाई आफू स्वयंले र सरकारका तर्फबाट पनि धेरैपटक आग्रह गरेको, तर उनीहरूले नमानेको बताए ।

साे समूहले आमनिर्वाचनका वेला चुनाव हुन नदिने, बम पड्काउने, निर्दाेष मान्छे मार्ने, अंगभंग पार्ने, उम्मेदवारको खुट्टा काट्ने र उम्मेदवार नै मार्ने प्रयास गरेको र अहिले पनि चन्दाको नाममा तर्साएर, धम्क्याएर लुटपाट गरेको प्रधानमन्त्रीको आरोप छ । 

विप्लव समूह आधिकारिक रूपमा दर्ता नभएको भन्दै ओलीले सो समूहलाई ठेगाना नभएको समूहको संज्ञा दिए । ‘यसको नीति र क्रियाकलाप आपराधिक छ,’ उनले भने, ‘हामी उनीहरूलाई विध्वंशको नीति छोड भनेर विध्वंशमाथि रोक लगायौँ, तर यसलाई लोकतन्त्र भएन भनियो ।’ उनले प्रश्न गरे, ‘बम पड्काउन हुन्छ लोकतन्त्रमा ?’ 

महाभारतको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘श्रीकृष्णले द्वापर युगमा अर्जुनलाई एक छिन सम्झाउँदा गीता बन्यो । त्यति ज्ञानको भण्डार भएका कृष्णले पनि सम्झाउँदा नमानेपछि हातको चक्र देखाउँथे,’ प्रधानमन्त्री ओलीले भने, ‘सम्झाउँदा नमाने राज्यले नियन्त्रण गर्छ ।’

‘विद्युत् उत्पादन गर्न नपाउने ? विद्युत्गृहमा बम पड्काउने ? नेपालीले टेलिफोन चलाउन नपाउने ? टेलिफोनका टावरमा पड्काउने ? नेपालीले धन कमाउन नपाउने ? लुटिहाल्नुपर्ने ?, गाडी चढेर हिँड्न नपाउने ? पल्टाइहाल्ने ? आक्रोशित मुद्रामा प्रधानमन्त्रीले भने, ‘यस्तो चल्दैन, यो आतंक, विध्वंश र गैरकानुनी क्रियाकलाप हो ।’

हतियार बुझाउन आउन आह्वान गर्दै प्रधानमन्त्रीले भने, ‘यदि बुझाउन आएनन् भने सरकारलाई थाहा छ, सरकारले कसरी हतियार लिन्छ ।’ सरकारले दुईतिहाइको घमण्डले यस्तो नगरेको दाबी गर्दै उनले भने, ‘संविधानविपरीत, गैरकानुनी रूपमा केही गर्न दिदैनौँ ।’ 



देशमा अशान्ति सधैँ नरहने र देश विकासको गतिमा अगाडि बढेको बताउँदै ओलीले त्यसैको परिणामस्वरूप सरकाले लगानी सम्मेलनको आयोजना गरेको दाबी गरे । 



  • प्रकाशित मिति : चैत १०, २०७५ आइतबार १८:४८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया