logo-img

अब नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउनु पर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको मौलिक ज्ञान, प्रविधि र सीपलाई विश्व परिवेश र ज्ञानको बजारसँग जोडेर अन्तर्राष्ट्रियकरण गरी नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् ।

बुधबार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले काठमाडौं विश्वविद्यालयले चलाइरहेका बहु विधागत कार्यक्रमहरूले अबको विश्वविद्यालय शिक्षा कस्तो हुनुपर्छ भन्ने उल्लेखनीय उदाहरण पेस गरेको उल्लेख गरे । 

उनले काठमाडौं विश्वविद्यालयले नेपालको मौलिक ज्ञान सीपलाई विश्व बजारसँग जोडेर नेपाली शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न गरिरहेको प्रयासको प्रशंसा गर्दै नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउनुपर्नेमा जोड दिए । 

उनले भने, ‘नेपालको मौलिक ज्ञान, प्रविधि र सीपलाई विश्व परिवेश र ज्ञानको बजारसँग जोडेर अन्तर्राष्ट्रियकरण गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउने जुन दूर दृष्टि छ, त्यो सराहनीय छ । काठमाडौं विश्वविद्यालयले जसरी आफ्नै तवरले त्यस प्रक्रियाको नेतृत्व लिइरहेको छ, त्यसमा सहयोग गर्न सरकार सदैव तत्पर छ ।’

उनले काठमाडौं विश्वविद्यालय नेपालको शैक्षिक अन्तर्राष्ट्रियकरणको ज्वलन्त उदाहरण बनेको भन्दै त्यसलाई थप सुदृढ र विस्तार गर्न राष्ट्रिय अभियानका रूपमा लैजान आवश्यक भएको बताए । 

‘आज दीक्षित हुने विद्यार्थीहरूमध्ये ६.१५ प्रतिशत विदेशी विद्यार्थी भएको र विश्वविद्यालयबाट हालसम्म दीक्षित भएकामध्ये १२ प्रतिशतभन्दा बढी विदेशी भएको मैले बुझेको छु । यो नै नेपालको शैक्षिक अन्तर्राष्ट्रियकरणको ज्वलन्त उदाहरण हो । अब यो क्रमलाई राष्ट्रिय अभियानका रूपमा थप सुदृढ र विस्तारित बनाउनु आवश्यक छ’, प्रधानमन्त्री दाहालले भने ।



उनले नेपाली विद्यार्थी बिदेसिने क्रम निकै बढेको र उनीहरूमा निराशा छाएकोप्रति चिन्ता प्रकट गरे । विश्वविद्यालयमा आर्जन गरेको ज्ञान र सीपलाई देश र मानव जातिको हितका लागि उपयोग गर्न अनुरोध गर्दै युवालाई स्वदेशमै रोजगारीको अवसर रहेको जिकिर गरे ।

‘नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन् । म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देश हितको पनि काम गर्न सकिन्छ’ दाहालले भने । 



  • प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया