सोमबारदेखि काठमाडौंका सडकमा धुलो सफा गर्ने कर्मचारीको सट्टा यान्त्रिक कुचो

काठमाडौं– सोमबारदेखि काठमाडौंका सडकमा धुलो सफा गर्ने कर्मचारीको सट्टा यान्त्रिक कुचो (ब्रुमर) देखिने भएका छन् । काठमाडौं महानगरपालिकाले इटालीबाट ल्याएको ब्रुमरको प्रयोग रत्नपार्कबाट सुरु गर्न लागिएको छ । 

गत असारमा बोलपत्र आह्वान गरी महानगरपालिकाले हालसालै पाँचवटा इटालियन ब्रुमर ल्याएको छ । महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले ब्रुमरको उद्घाटन गरेपछि विभिन्न पाँच रुटमा त्यसको नियमित प्रयोग गरिनेछ । 

टेकुलाई केन्द्र बनाएर ती ब्रुमर पाँचै रुटमा चलाएर रिंगरोडभित्रको सफाइ गरिनेछ । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा ६ टन क्षमताको छ । झन्डै ११ करोड रुपैयाँ खर्चिएर महानगरपालिकाले ती ब्रुमर ल्याएको हो ।

ब्रमरको प्रयोग कलंकी, बल्खु, कालिमाटी, टेकु, सुन्धारा, टुँडीखेलआसपास, लैनचौर, लाजिम्पाट , महाराजगन्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने, एयरर्पोट, पुतलीसडक, सिंहदरबाबर, हात्तिसार, दरबारमार्ग, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, सिनांगल, वसन्तपुर, मध्यबानेश्वर, भद्रकालीलगायत क्षेत्रमा हुनेछ ।

युरो ४ स्टान्डर्डका यी ब्रुमरमा धुलो टिप्ने र पानी हाल्ने दुई फरक–फरक ट्यांकी छन् । धुलो टिपेपछि ब्रुमरले पानी पनि छर्किन्छ । आठ मिटरभन्दा कम चौडाइका सडक मात्र काठमाडौं महानगरपालिकाको जिम्मेवारीमा पर्छ ।

यी ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँ–बायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली मेसिन जडान गरिएको छ । यी ब्रुमरले दैनिक १० किलोमिटरसम्मको धुलो संकलन गर्न सक्ने बताइएको छ ।





  • प्रकाशित मिति : चैत ११, २०७५ साेमबार १५:३९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया