Wed, 26 Jun, 2019


काठमाडौंमा महिलाः पहिलो डर ‘आवरा’को, दोस्रो प्रहरीको !
फरकधार / चैत ११, २०७५

काठमाडौं– २३ वर्षकी उषा घले नयाँ बानेश्वर चोकैमा रहेको लेडिज कपडा पसलमा काम गर्छिन् । २ वर्ष यता प्रत्येक दिन बिहान उनी १० बजे पसलमा पुग्छिन् । दिनभर ग्राहकसँगको कुराकानी, कपडाको बेचबिखनले समय त खान्छ तर जब साँझ ढल्दै जान्छ र उनी घर फर्किने समय सुरु हुन्छ, उनको मनमा चिसो पस्छ । 
‘झमक्क साँझ परेपछि घर जानु पर्छ, बाटोमा आफू सुरक्षित छु भन्ने नै लाग्दैन,’ उनले भनिन्, ‘हुन त मसँग साथी पनि हुन्छिन्, तर ...।’ उषाले यो वाक्य पूरा गरिनन् । 



यो एक वर्षअघिको घटना हो । उषा साँझमा पसल बन्द गरेर घर फर्किँदै थिइन् । उनको घर पुग्न बानेश्वरबाट बबरमहल हुँदै जानुपर्छ । बबरमहल विशेष अदालत अगाडिबाट मात्र उनी के अगाडि बढेकी थिइन्, दुई चार जना केटाहरुले उनलाई सुसेली बजाएर ‘फोहोरी शब्द’ उच्चारण गर्दै बोलाए । उषा साथीसँग थिइन्, चुपचाप हिँडिन् । 

त्यो दिन त उषा चुपचाप हिँडिन् तर त्यसपछिका दिन उनलाई सहज भएन । तिनै केटाहरुले उनीहरुलाई त्यहाँ कुर्न थाले । हुँदाहुँदै एकदिन उनीहरुले हातै समाते ।

‘हामीले बाटो फेर्न थाल्यौँ, अर्को बाटो हिँड्न थाल्यौँ तर ती केटाहरुले हामीलाई पिछा गर्न छाडेनन्,’ उषाले भनिन्, ‘ती आवाराहरु थिए, नशाले झुमेका हुन्थे, उनीहरुले बोल्ने शब्द उच्चारण गर्न मात्र होइन, सोच्न पनि सकिँदैन ।’

अति नै भएपछि उषाहरु प्रहरीकोमा गए । रिपोर्ट गरे ।

जति उषाहरुले साँझको सडकमा ती ‘आवारा’हरुबाट पीडा पाएका थिए, उषाकै शब्दलाई लिने हो भने प्रहरीले पनि उनीहरुलाई शान्ति दिन सकेन । 

‘जति हामीलाई बाटोमा डर भएको थियो,’ उनले भनिन्, ‘प्रहरीकहाँ पुगेपछि हामी झन् त्रसित भयौँ, बाटोमा हामीमाथि भएको व्यवहार र प्रहरीकहाँ भएको व्यवहारमा कुनै भिन्नता थिएन ।’

खासमा उषाहरु आँट गरेर ती ‘आवारा’हरुलाई सवक सिकाउन प्रहरीकहाँ पुगेका थिए । तर, प्रहरीहरुले सुरुमै उनीहरुको कुरालाई ‘रमाइलो’ मानेर उडाएँ । ‘हामीले कुरा सुरु गर्दा उनीहरु हाँसे,’ उनले सम्झिइन् । 

त्यसपछि आफ्ना कुराहरु राख्दै गर्दा उषाहरुलाई झन् बढी केरकार गर्न थाले प्रहरीले । यो यस्तो केरकार थियो जुन यहाँ शब्दमा हामीले उतार्न सक्दैनौँ । 

प्रहरीले गरेको त्यो केरकारबाट आजित भएर एउटी महिला मानसिक रुपमा नै कमजोर हुने निष्कर्ष उषाले निकालिन् । ‘हामीले रिपोर्ट गर्ने निकाय तथा प्रहरी नै किन महिलामैत्री छैनन् ?’ उषाको प्रश्न छ । 

उषालाई मानसिक रुपमा त्यो एक वर्ष अगाडिको घटनाले अहिले पनि पिरोलिरहन्छ । तर, उनीजस्तै दैनिक पीडा खप्न बाध्य छिन्, १८ वर्षीया सरिना (नाम परिवर्तन) । 

रत्नराज्य लक्ष्मी क्याम्पसमा सोसल वर्क पढिरहेकी सरिना काठमाडौंमा बस्न थालेको धेरै भएको छैन । तर, उनले आजभोलि दैनिक गाडीमा भोग्नु पर्ने समस्याले उनलाई आजित बनाइदिएको छ । ‘कलेज आउँदा र घर जाँदामात्र गाडी चढ्दा पनि भीडले गर्दा निकै आत्तिनु पर्ने अवस्था छ,’ उनले भनिन्, ‘मानिसहरु जानीजानी पनि हामीलाई छुन खोज्छन्, साँझ पर्दा बाटोमा रक्सी खाएकाहरु बसिरहेका हुन्छन् । मन ढुक्क हुन्छ ।’ 

सरिना र उषाहरुको भन्दा फरक कथा छैन सुनिताको पनि । सुनिता सुन्धारा–नयाँ बानेश्वर रुटमा ट्याम्पो चलाउँछिन् । उनी त आफूमाथि हुने अन्याय तथा उत्पीडनबारे बोल्न पनि चाहन्नन् । ‘यो थाहा भयो भने श्रीमानले यो काम पनि गर्न दिँदैनन् भन्ने लाग्छ,’ उनी भन्छिन्, ‘साँझ परेपछि ट्याम्पुमा चढ्ने मानिसहरु सोझै आजको रात जाने हो त भनेर सोध्छन्, नम्बर माग्छन् । जे मन लाग्छ, त्यही बोल्छन् ।’

 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्