logo-img

रामजानकी विवाह : जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान
फाइल तस्बिर

मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । शनिबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्यता ग्रहण गर्दै जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । रामजानकी विवाह महोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने पुरानो परम्परा हो ।

महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन् । केही दशक पहिलेसम्म मङ्सिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधुसन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे । 

यो तालिकामा पहिलो रात मटिहानी, दोस्रो रात जलेश्वर, तेस्रो रात महोत्तरीकै सहोडवा र चौथो दिन जनकपुर पुग्ने चलन थियो । यसक्रममा दिवा र रात्रिभोजनका स्थल निर्धारित भएबमोजिम स्थानीयले अहोभावले स्वागत गर्दै भोजन, विश्रामको चाँजो मिलाउने परम्परा रहेको पिपरा गाउँपालिकाको बनौली गाउँका ६५ वर्षीय वैद्यनाथ चौधरीले बताए ।

केही साधुसन्त पञ्चमीको एक दिनपूर्व मटिहानी पुग्ने र महोत्सवको मुख्य दिन पञ्चमी तिथिमा जलेश्वर हुँदै जनकपुर जान थालेका छन् । मेला उत्सवको आकर्षण घट्दै गएर सीमित सङ्ख्याका साधुसन्त र सर्वसाधारण श्रद्धालु आउने गरेका यात्राको बाटो क्षेत्र (मटिहानी–जलेश्वर–पिपरा–जनकपुर) का बासिन्दा बताउँछन् । कतिपय भारतीय साधुसन्त त आज नै भिठ्ठामोर सीमानाकाबाट नेपाल प्रवेश गर्दै सोझै जनकपुर पुग्ने जनाइएको छ । 

जनकपुरधाममा सप्ताहव्यापी मनाइने रामजानकी महोत्सव त्रेतायुगमा अयोध्या नरेश दशरथ पुत्र श्रीराम र मिथिला (विदेह) का राजा शिरध्वज जनककी पुत्री सीताको मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन विवाह भएको सम्झनामा मनाउँदै आइएको हो । हिन्दू परम्परामा श्रीराम विष्णुका अवतार र मर्यादा पुरुषोत्तम कहलिन्छन् भने सीता लक्ष्मीकी अवतार र आदर्श नारीका रूपमा पूज्य छन् ।

जनकपुरधाममा सम्पन्न गरिने महोत्सवको साप्ताहिक तालिकामा जनकपुर नगर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर र स्वयम्बर तथा विवाह र रामकलेवा विधि छन् । महोत्सवको मुख्य दिन आज मङ्सिर शुक्ल पञ्चमीका दिन मध्याह्नपछि जनकपुरधामको विशाल रङ्गभूमि मैदानमा स्वयम्बर समारोह आयोजन हुँदैछ । 



रामसीताको स्वयम्बरपछि आजै राति जानकी मन्दिर परिसरभित्रको विवाहमण्डपमा राम–सीता, भरत–माण्डवी, लक्ष्मण–उर्मिला र शत्रुघ्न–श्रुतिकीर्तिको  विवाह विधि सम्पन्न गरिने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए । रासस



  • प्रकाशित मिति : पुस १, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया