जागिर खोज्दै पानीजहाज कार्यालय पुगे थरीथरीका ‘क्याप्टेन’
तस्वीर: रासस ।

काठमाडौं– सरकारले नेपालकै पानीजहाज चलाउने उद्देश्यका साथ सुरु गरेको पानीजहाज कार्यालयमा जागिर खोज्दै थरीथरीका ‘क्याप्टेन’ पुगेका छन् । पानीजहाज कार्यालयका एक अधिकारीका अनुसार अहिलेसम्म १० जना क्याप्टेन जागिर पाइन्छ कि भनेर त्यहाँ बुझ्न पुगेका हुन् । 

२ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज कार्यालय उद्घाटन गरेका थिए । नदीमा पुल उचालेर भए पनि पानीजहाज चलाएर छाड्नै उद्घोष गरेका प्रधानमन्त्रीले गरेको पानीजहाज कार्यालयको चर्चा निकै चलेको थियो । 

यो चर्चा सुरु भएसँगै आफूले पानीजहाज चलाउने भन्दै विदेशमा पानीजहाज चलाएका दुई क्याप्टेनसमेत पानीजहाज कार्यालय पुगे । तर, पानीजहाज कार्यालयले चाहिँ अहिलेसम्म कसरी मानवस्रोत भर्ना गर्ने भन्ने निर्धारण गरिसकेको छैन । 

‘२०२७ सालमा बनेको पानीजहाज ऐन अहिले सम्म संसोधन भएको छैन,’ पानीजहाज कार्यालयका इन्जिनियर विपिन राजभण्डारीले भने, ‘त्यही ऐन हेरेर पनि यहाँ बुझ्न आउनु भएको हुनसक्छ ।’ त्यसरी कार्यालयसम्म बुझ्न जानेलाई ऐनमा संसोधन नगरी यसबारे केही बताउन नसकिने भन्दै त्यहाँका कर्मचारीले फर्काउने गरेका छन् । उक्त ऐन संसोधन प्रक्रियामा अगाडि बढिसकेको पनि उनले जानकारी दिए । 

‘पानी जहाजको पुरानो ऐनमा डुङ्गा शब्द थियो, त्यो सबैकुरा संसोधन गरेर नयाँ ऐन बनाउनु पर्ने छ । प्रधानमन्त्रीको कार्यालयले समेत जल तथा ऊर्जा आयोगमा कमिटि बनाएर नयाँ कानुन बनाउँदैछ । त्यो कानुन बन्न धेरै समय लाग्छ । त्यसैले काम छिटो गर्न पुरानो ऐनमानै कार्यविधि बनाएर गर्न सकिन्छ कि भन्ने तर्फ लागेका छा,’ राजभण्डारीले पछिल्लो समय पानीजहाज कार्यालयले गरिरहेको कामबारे बताए । 

उता, कार्यालयमा बुझ्न जानेहरु चाहिँ विदेशमा पानीजहाज चलाएका मात्र होइनन्, फेवा ताल, नारायाणी नदी, बराह क्षेत्रलगायतका ठाउँमा मोटरबोट चलाउनेहरु पनि छन् । कतिपयले आफूले चलाइरहेको मोटरबोटका लागि अनुमति लिन पनि कार्यालयमा सम्पर्क गरेका छन् । 



‘उहाँहरु स्टिमर चलाउने विषयमा कुरा गर्न आउनुहुन्छ,’ राजभण्डारीले भने, ‘तर, हामी कानुन बनाउने प्रक्रियामा रहेकाले यस विषयमा केही गर्न नसकिने भनेर फर्काइरहेका छौँ ।’

 



पानीजहाज कार्यालयमा १० कर्मचारी, आधा अर्कै कार्यालयका 

पानीजहाज कार्यालयको उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले कार्यालयमा १६ जना कर्मचारीको दरबन्दी रहने बताएका थिए । तर, अहिलेसम्म कार्यालयमा १० जनामात्रै कर्मचारी छन् । त्यसो त उद्घाटनको एक सातापछि फरक धारको टोली कार्यालय पुग्दा कार्यालय बन्द नै थियो । 

तर, अहिलेसम्म पानीजहाज कार्यालयकै लागि भनेर पाँच जना मात्र नियमित कार्यालय पुग्छन् । यीमध्ये केही चाहिँ काजमा कार्यालय पठाइएका हुन् । 

पानीजहाज कार्यालमा अहिले काम गरिरहेका पाँच कर्मचारीले भने दुईवटा अफिस धानिरहेका छन् । पानीजहाज कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी इन्जिनियर निराजन शर्मा चक्रपथका कर्मचारी हुन् । यस्तै, भन्सार विभागका कर्मचारी उत्तम गौतम समेत पानीजहाजको कार्यालको कानुन अधिकृतको रुपमा खटाइएका छन् । 

‘कलङ्की–कोटेश्वर चक्रपथको काम चिनियाँ कम्पनीले सकेर नेपाल सरकारलाई जिम्मा दिएको छ, आकासे पुल बनाउने काम हाम्रो हो,’ निराजन शर्माले भने, ‘त्यो काम सकिन लागेको छ, त्यसैले यता पनि म काम गरिरहेको छु ।’

पानीजहाजको कार्यालय र चक्रपथको कार्यालय एकै ठाउँमा भएकोले जता काम हुन्छ उतै आफूले काम गरिरहेको शर्माले बताए । 

 
के गर्छन् त पानीजहाज कार्यालयमा कर्मचारी ? 

सोमबार विहान हामी पानीजहाज कार्यालय पुग्दा खासै कोही पनि थिएनन् । भेटिएका कार्यालय सहयोगी अशोक कुमार थापाले भने, ‘सरहरुको प्रायः जसो मन्त्रालयमा काम पर्छ, उता पुगेर मात्र यता आउनुहुन्छ ।’  

उनी आफू भने कार्यालयमा खासै काम नभएको बताउँछन् । 

अहिले जो पानीजहाज कार्यालयका लागि नियुक्त भएका छन्, उनीहरु कानुन निर्माण प्रक्रियामा रहेको इन्जिनियर राजभण्डारी बताउँछन् ।

‘हामीले अहिले कस्तो पानीजहाज चाहिने हो, किन चाहिने, त्यस विषयमा केही काम गरिरहेका छौँ,’ उनले भने, ‘हामीले कल्सन्ट्यान्ट कस्तो ल्याउने आदि विषयमा कार्यविधि बनाएर मन्त्रालयमा पठाएका छौँ ।’ 

‘जलमार्गको विषयमा हामीले धेरै काम गर्नु छ, कुन मार्ग चलाउने कसरी चलाउने धेरै कुरा बनाउनै बाँकी छ,’ उनले भने । 

प्रवक्ता शर्मा पनि पहिलो चरणमा कानुन बनाउनै आफूहरु केन्द्रित भएको बताउँछन् । ‘भर्खर कर्मचारीको नियुक्ती हुँदै छ, अझै धेरै जनाको कोटा खाली छ, त्यसले पनि काम धेरै गर्न पाएका छैनौं,’ उनले भने । 

  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार ९:४४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया