Wed, 16 Oct, 2019


विप्लवको योजनाले प्रचण्डमा जगाएको दया !
सुजन देवकोटा
फरकधार / चैत १२, २०७५

नेपाली समाजमा चल्तीको एउटा उखान छ– आफूले पालेको कुकुरले आफैँलाई टोक्छ । प्रचण्डकै स्कुलिङमा तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वमा होमिएका नेत्रविक्रम चन्द ‘विप्लव’ यतिबेला भन्डै साँढे दुई दशकअघिको इतिहासको पुनरावृत्ति गराउने हिसाबले अघि बढेका देखिन्छन् ।



समय र परिस्थिति कहिले कसको पक्षमा भइदिन्छ त कहिले कसको । २०५२ सालमा माओवादीले थालेको सशस्त्र युद्धले २०६२ मंसिर ५ गते विश्राम लिएयता राजनीतिक समय प्रचण्डकै परिपरि घुमिरहेको छ । शान्ति सम्झौतामा हस्ताक्षर गर्दाको माओवादी यतिबेला विभिन्न पाँच गुटमा टुक्रिएको छ । पाँचमध्येको एउटा गुट, जुन प्रचण्डको नेतृत्वमा रहेको थियो, त्यो आज माओवादीको अस्तित्व समाप्त पार्दै एमालेमा विलय भइसकेको छ । तत्कालीन माओवादी युद्धका योजनाकार भनिने डा. बाबुराम भट्टराईले छुट्टै बाटो तय गरेका छन् ।

माओवादीका नामबाट उदाएर अहिले जुन–जुन राजनीतिक दलका नेताका रूपमा चिनिए पनि ती सबैका गुरु मानिने मोहन वैद्य नेकपा माओवादी (क्रान्तिकारी) नामको एउटा टुकडीका साथ आफ्नै खोपीमा पुस्तक लेखन र अध्ययनमा सीमित भएका छन् । गोपाल किराँतीले पुनर्गठित माओवादीको नेतृत्व सम्हालेर सानो संगठन चलाइरहेका छन् । यी चारवटै पूर्वमाओवादीका संगठनहरूले संविधानसभाबाट बनेको संविधानलाई पूर्ण वा आंशिक रूपमा स्वीकार गर्दै आएका छन्, तर त्यही पृष्ठभूमिबाट जन्मेको विप्लव गुट भने देशलाई पुनः युद्धतर्फ डोर्याउन लागिपरेको छ । 

सत्ताधारी नेकपाका एकजना अध्यक्ष प्रचण्डको भनाइलाई आधार मान्ने हो भने विप्लव माओवादीले उनको हत्या गरेर युद्धको थालनी गर्ने योजना बनाएको छ ।  आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकाले उनलाई त्यस्तो जानकारी दिएको उनको दाबी छ । नेपालमा व्यक्ति हत्याका घटना नभएका पनि होइनन् । मदन भण्डारी हत्याकाण्ड, राजदरबार हत्याकाण्डजस्ता घटना अहिलेसम्म पनि सुसुप्त अवस्थामै छन् । जुन, बाहिरी तत्वबाट नभएर आफ्नै पार्टी र पारिवारिक स्तरबाटै भएजस्ता देखिन्छन् ।

मदन भण्डारीको हत्या कसले गर्यो ? उनको हत्यापछि बाँचेका उनका चालकलाई पछि फेरि किन मारियो ? यस्ता प्रश्न आजसम्म अनुत्तरित नै छन् । जसको जवाफ जान्न मृतकका परिवारले उत्सुकता देखाउनुपर्ने थियो । दुर्भाग्य, त्यस्तो भएन । पारिवारकै सदस्य देशको सर्वोच्च ठाउँमा हुँदा पनि यी प्रश्नले उत्तर पाउन सकेनन् ।

आफू देशको उच्च तहमा हुँदासमेत आफ्नो ख्वामितको हत्यारा पत्ता लगाउन नसक्ने व्यक्तिको नेतृत्वमा देश चल्दा आम नेपालीले शान्ति–सुरक्षाको अनुभव कसरी गर्ने ? आफू ठाउँमा हुँदासमेत यस्ता कुरामा सम्बन्धित व्यक्ति वा निकायले चासो नदिँदा उल्लिखित घटना घटाउनुमा उनै व्यक्तिको हात त थिएन भनेर शंका गर्ने ठाउँ प्रशस्तै उब्जिएका छन् ।

यो त्यस्तो देश हो, जहाँ कसैको क्षमता अब्बल देखियो भने उसलाई भित्रभित्रै काण्ड पुर्याएर छोडिन्छ । भण्डारीको हत्यामा पनि भएको यही हो । राजनीतिक क्षमता अब्बल भएकै कारण उनलाई नेतृत्वमा राखेर आपूm सधैँको पिछलग्गु हुनुभन्दा अर्को उपाय नदेखेपछि तत्कालीन एमाले पार्टीभित्रैको षड्यन्त्रका कारण तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीलाई योजनाबद्ध तरिकाले मारिएको हो । जुन योजना बुन्नेहरू अहिले देशको उच्च पदमा नै छन् ।

यदि त्यसो होइन भने अहिले तत्कालीन एमालेकै नेतृत्वमा सरकार छ । सरकार मात्रै होइन, राष्ट्र पनि तत्कालीन एमालेकै एउटा जिम्मेवार नेतृत्वको हातमा छ । यस्तो बलियो अवस्थामा पनि भण्डारीको रहस्यमय हत्याकाण्डबारे खोजी गर्नु त परको कुरा, त्यस विषयमा कुरासम्म पनि नउठ्नुले सबैमा संशय पैदा गराएको छ ।

यहाँनेर के कुरा उठान गर्न खोजिएको हो भने राजनीतिमा कोही पनि सधैँको मित्रतामा रहन सक्दैन र सधैँको दुस्मन मात्रै भएर पनि रहन सक्दैन । यो मान्यता आज स्वयं नेकपाका अध्यक्षद्वयमा पनि लागू भएकै छ । कोही कसैको दुस्मनी यस्तो पनि हुन्छ कि, बाहिर राम्रो राखेर भित्रभित्रै उसको जीवनलीला समाप्त पार्नसमेत पछि पर्दैन ।

भण्डारी हत्याकाण्ड पनि त्यसैको एउटा उदाहरण हो । तत्कालीन अवस्थामा देखिने गरी उनको दुस्मनी कोहीसँग पनि थिएन । मदन भण्डारीलाई जुन तरिकाबाट त्रिशूलीमा हालियो, भोलि प्रचण्डमा पनि त्यो लागू नहोला भन्न सक्ने अवस्था छैन । किनकि, एउटै जंगलमा दुईवटा सिंह लामो समयसम्म रहन सक्दैनन् भन्ने नेपाली समाजको मान्यता छँदै छ ।

भण्डारीले नेतृत्व सम्हालेको तत्कालीन एमालेको नेतृत्वमा दुई व्यक्ति थिएनन्, तैपनि उनलाई सिध्याउने खेल खेलियो । आजको नेकपाको नेतृत्वमै दुईजना छन्, यो नेतृत्व महाधिवेशन अगाडिसम्मका लागि यथावत् रहनेछ भने महाधिवेशका लागि ओली र दाहालमध्येकै एकजना चुनिने सम्भावना ज्यादा देखिन्छ । त्यसैको तयारीस्वरूप यी दुईका बीचमा विस्तारै आफ्नो पकड जगाउने तानावाना बुनिन थालिएको छनक यदाकदा पाइन थालेको छ । बाहिरी दुस्मनी नदेखिए पनि भित्रभित्रैको असन्तुष्टि बढ्दै गएको व्यावहारिक क्रियाकलापले देखाउँदै ल्याएको छ । पछिल्लो समय प्रचण्डले कहिलेकाँही सरकारको गतिविधिप्रति असन्तुष्टि जनाउनु त्यसैको प्रतिविम्ब हो ।

यस्ता कुराप्रति ओलीको चित्त बुझेको छैन भने सरकारका हरेक गतिविधि देखेर आफ्नै पार्टीदेखि लिएर आम जनतासम्मले असन्तुष्टि जनाउँदै आएपछि ओलीलाई भोलिको चुनावमा आफ्नो अस्तित्व कहाँ पुग्ला भन्ने पिरलो पनि हुन सक्छ । त्यसैले, दाहालको अनुपस्थितिमा ओली र ओलीको अनुपस्थितिमा दाहाल बलियो हुने यथार्थ हो । 

एकलौटी रुपमा सरकार सञ्चालन गरेको, पार्टीको सबै निर्णय सचिवालय बैठकबाटै हुने गरेको जस्ता गतिविधिप्रति पूर्वएमालेकै नेताहरु पनि ओलीप्रति रुष्ट छन् । नेत्रविक्रम चन्दको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको पछिल्लो निर्णय पनि पार्टीभित्रैबाट विवादित बन्न पुगेको छ । यी र यस्ता धेरै विषयमा रुष्टिएर पूर्वएमाले खेमा पनि विस्तारै प्रचण्डतिर ढल्किँदै गएको अवस्थामा विप्लव समूहलाई दोषी देखाएर सरकारभित्रैबाट वा ओली पक्षबाटै प्रचण्डलाई सिध्याउने योजना बुनिन थालेको पो छ कि भन्नेतिर पनि ध्यान केन्द्रित गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

किनकि, राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन । प्रचण्डले आफ्नो हत्याको कुरा सार्वजानिक गरेसँगै विप्लव पक्षका नेताहरुले जनयुद्धको उद्देश्य, मूल्य–मान्यता, सहिदको सपना, जनताको विश्वास र भावनालाई तिलाञ्जली दिएर सैद्धान्तिक एवम् वैचारिक रुपमा मरेसरह व्यक्तिलाई पुनः भौतिक रुपमा मारिरहन नपर्ने कुरा स्पष्ट पारिसकेका छन् । सरकारको तारो विप्लवतिर तेर्सिनु र विप्लव पक्षबाट आपूmहरूका लागि मरेसरह व्यक्तिलाई पुनः समय खर्चिन नपर्ने भन्नेजस्तो अभिव्यक्ति आइसकेपछि यो कुराको अन्तर्य झनै लुकेको छ । न त विप्लवले अहिलेसम्म आधिकारिक रुपमा प्रचण्डलाई सिध्याउने कुरा सार्वजानिक गरेका छन् न त सरकारका तर्फबाट नै प्रचण्डलाई त्यस्तो लिखित सूचना मिलेको छ । 

हिजोका दिनमा विप्लवलाई जोगाउने प्रचण्ड र प्रचण्डलाई जोगाउने विप्लव थिए होलान् । १७ हजारभन्दा बढी मानिस मर्दा बाँच्न सफल प्रचण्ड र विप्लव शान्ति सम्झौतामार्फत मूलधारको नेपाली राजनीतिमा आइसकेपछि पनि केही वर्ष राजनीतिक यात्रामा सँगै यात्रा गरे । तर, जुन उद्देश्यका साथ माओवादी जनयुद्धको सुरु भएको थियो, त्यसको विपरीत प्रचण्डलगायत तत्कालीन माओवादीको नेतृत्व लाग्न थालेपछि तत्कालीन एमाओवादीको मोहन वैद्य पक्ष प्रचण्डप्रति टाढिँदै गयो र बाबुराम भट्टराई नेतृत्वको सरकारले सेना समायोजन गरेसँगै आफ्नै पार्टीको सरकारको नेतृत्वका विरुद्ध रुपमै उत्रियो ।

अन्ततः त्यो असन्तुष्टि बाबुराम सरकारको अन्त्यसँगै औपाचारिक रुपमा पार्टी फुटमा परिणत भयो । तत्कालीन एमाओवादीका सचिवसमेत रहेका विप्लव मोहन वैद्यको खेमामा पुगे । उनी त्यो समूहमा पनि धेरै समय टिक्न सकेनन् र अहिलेको अवस्थासम्म आइपुगेका छन् । प्रचण्डप्रति अहिले पनि सद्भाव राख्ने कोही छन् भने उनका आसेपासे र कार्यकर्ता मात्रै छन् । प्रचण्डप्रति किन जनताको यत्रो आक्रोश पैदा भयो त ? यो सबै उनको आफ्नै कारणले गर्दा भएको हो । 

राजनीतिका चतुर खेलाडी प्रचण्डमा क्षमता छ, आइडिया छ, जनतालाई मोहित पार्न सक्ने बोली छ । तर, उनले ती सबै अस्त्र देश र जनताका लागि खर्चिएनन् । ती सबै खर्चिए त आफ्नो लागि र आफ्नो परिवार अनि नातेदारका लागि । गणतन्त्रका लागि लडेका प्रचण्डको अगुवाइमा आएको गाणतन्त्र उनैका परिवार, आसेपासे र नातेदारका लागि मात्रै फलिफाप भयो ।

नेपाल र नेपाली जनताले के पाए ? पछिल्लो समयमा आएर उनकै पार्टीको सरकारले जनतालाई बोल्नसमेत प्रतिबन्ध लगाउन थालेको छ । यिनले मच्चाएको विध्वंशले राष्ट्रको अर्बौंको भौतिक संरचना सिध्यायो । अनाहकमै सयौँ नेपाली सहिद भए भने हजारौँ घाइते भए, कति मानिस अहिलेसम्म पनि उपचारमै छन् । माओवादीको युद्धले देशलाई झन्डै सात दशक पछाडि धकेल्यो । 

यदि नेपाली जनताले बुझेका छन् भने अब विप्लव मात्रै होइन, कुनै पनि संगठन वा राजनीतिक दलले गर्ने हिंसात्मक आन्दोलन सफल हुने देखिँदैन, किनकि हिजोका प्रचण्ड आफ्नो एक्लो प्रयासले आजका प्रचण्ड भएका होइनन् । उनलाई प्रचण्ड बनाउन लागिपर्ने धेरै थिए, जसमध्ये एकाध व्यक्तिबाहेक आज सबै निराश र थकित छन् । अब फेरि कसैले कसैलाई अर्को नयाँ प्रचण्ड बनाउन खोजे त्यसले सफलता प्राप्त गर्ने देखिँदैन ।

प्रचण्डले अहिलेसम्म जे गरे, आफ्नो र परिवारको लागि मात्रै गरे । त्यस्तै गल्तीले गर्दा आज प्रचण्डलाई अरुदेखिभन्दा पनि हिजोका आफ्नै सहयात्रीदेखि बढी डर भएको हुनसक्छ । अब न त प्रचण्डको दया–मायाले विप्लवको मन पग्लन्छ, न त विप्लवको योजनाले प्रचण्ड नै सिद्धिन्छन् । यी सबै प्रचण्डको मनगढन्ते कुरा र आफू चर्चामा आउने मेलोमेसो मात्रै हो भन्ने आमजनताका सामु छर्लङ्ग भएको कुरा हो । यसरी आफ्नो बदनाम आफैँले गरेर धेरै दिन टिकिँदैन भन्ने कुरा ढाँटछलको खेती गर्नेले बुझ्न जरुरी छ । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्