बैतडीमा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बझाङले विजयी सुरुवात गरेको छ । आज सम्पन्न खेलमा बझाङले दार्चुलालाई ७ विकेटले पराजित गर्दै जित हासिल गरेको हो ।
जितका लागि पाएको ९१ रनको झिनो लक्ष्यमा बझाङले १५.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । बझाङका लागि अभिनाश मल्लले ४४ रनको योगदान गरे । उनी म्यान अफ द म्याचसमेत बनेका छन् । दार्चुलाका लागि नरेन्द्र महराले २ विकेट लिए ।
यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको दार्चुला १७.५ ओभरमा ९० रनमा समेटियो । दाचुलाका लागि विपीन धामीले सर्वाधिक २८ रन बनाए । बझाङका सुशील रावल र अशोक धामीले समान ३–३ विकेट लिए ।
पहिलो खेलमै जित निकालेको बझाङले च्याम्पियन बन्ने सम्भावना छ । दार्चुला भने लगातार ३ खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत बुधबार बझाङ र डडेल्धुरा प्रतिस्पर्धा गर्नेछन् ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो । प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि दुई चरणमा प्रदेश छनोट गरिररहेको छ । पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भइरहेको छ । दोस्रो चरणमा कैलालीमा इलिट च्याम्पियनसिपका खेल हुनेछन् ।
प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी छन् । गत वर्षको प्रदेश छनोटमा सेमिफाइनलमा पुगेका टोलीले सोझै इलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन् ।
प्लेट च्याम्पियनसिपको विजेता टोलीले इलिट च्याम्पियनसिपमा सहभागी हुने संघका उपाध्यक्ष रमेश बोहराले बताउनुभयो । इलिट च्याम्पियनसिपको उद्घाटन खेल यही पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपको विजेता टोलीबीच हुनेछ ।
खेलाडीको क्षमता अभिवृद्धिका लागि प्लेट र इलिट च्याम्पियनसिप खेल आयोजना गरिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।