संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन् । मंगलबार मन्त्रालयमा सरकारको वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
आफू मन्त्री भइसकेपछि करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेको उनले बताए । उनले आफू मन्त्री भइसकेपछि एक महिनामा इ टिकेटिङ लागू गरेको र अहिले दुर्गम क्षेत्रहरुमा उडाउन तीनवटा जहाज खरिद प्रक्रियामा अघि बढिरहेको बताए ।
उनले १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै ६ वटा जहाज हुने बताए । उनले हवाई उडान हुन नसकेको २२ वटा खाली एयरपोर्टमा सहज ढंगले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको बताए ।
‘अहिलेसम्म आउँदा हाम्रो देशको पर्यटन पुरानो लयमा फर्किएको छ । करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक आइसकेका छन् । वायुसेवा निगमको कुरा गर्ने हो भने आएको एक महिनामा इ टिकेटिङ लागू गरेका थियौँ,'उनले भने, 'अहिले भर्खरै मात्रै तीनवटा जहाज खरिद प्रक्रियामा दुर्गम क्षेत्रमा उड्ने जहाजहरु खरिद प्रक्रियामा अघि बढीरहेका छौँ । १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गर्दैछौँ र चाँडै सञ्चालनमा ल्याउनेछौँ । त्यसपछि ६ वटा जहाज हुनेछन् ।'
हवाई उडान हुन नसकेको २२ वटा खाली एयरपोर्टहरुमा सहज ढंगले सञ्चालन हुन लागेकाे जानकारी दिँदै उनले थन्किएर रहेको चिनियाँ जहाजलाई राख्दा पनि इन्स्योरेन्स र पार्किङ शुल्क तिर्नुपर्ने भएकाले त्यसको लिलामी गर्न टेण्डर आह्वान गरेकाे बताए ।
पशुपति क्षेत्रमा अहिले निःशुल्क दहन गर्नेगरी विद्युतीय मेसिन जडान गर्नेगरी अन्तिम चरणमा पुर्याएकाे र लुम्बिनी क्षेत्रको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम बिन्दुमा पुगेकाे उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।