विप्लव आन्दोलनको कुनै अर्थ छैन : मुख्यमन्त्री गुरुङ

पर्वत– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन् ।  

आज पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले मुलुकको विकास निर्माणमा अवरोध पुर्याउने र राज्यको सम्पत्तिमा क्षति पुर्याउने जस्ता अराजक गतिविधि त्यागेर वार्तामा आउन विप्लव समूहलाई आह्वान गरे । 

मुख्यमन्त्री गुरुङले अब पहिलेका जस्तो क्रान्ति सम्भव नभएको उल्लेख गर्दै सरकारसँग वार्तामा आएर शान्तिपूर्ण बाटो रोज्न विप्लव समूहलाई आग्रह गरे । 

‘अब मुलुकमा हिंसात्मक गतिविधि गर्ने जोसुकै समूहलाई पनि नागरिकले स्वतः प्रतिकार गर्छ’, उनले भने, ‘स्थायी सरकारले मुलुकलाई स्थायित्व दिन लागेका बेला बम पड्काउने गतिविधि रोकेर शान्तिपूर्ण राजनीतिक धारमा आउन म विप्लव समूहलाई आग्रह गर्न चाहन्छु ।’ 

मुख्यमन्त्री गुरुङले सिके राउतलाई मूल धारमा ल्याउने विषयमा पार्टीभित्रैबाट असन्तुष्टि देखिएको उल्लेख गर्दै सुरुमै आलोचना गर्नुभन्दा पनि त्यसले पार्ने दूरगामी असरलाई पर्खिनुपर्ने बताए । 

अर्को प्रसङ्गमा मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले यो एक वर्षमा विकास निर्माणका आधार तयार गरेको बताउँदै अब प्रदेशको आर्थिक समृद्धिका लागि धमाधम काम गरिने प्रतिवद्धता व्यक्त गरे । चौतर्फी समस्याका कारण एक वर्षमा नागरिकले अपेक्षा गरेअनुसारको काम गर्न नसकेको स्वीकार गर्दैै उनले अब द्रुत विकासको मोडेलमा अघि बढ्ने विश्वास दिलाए । 

नेकपा गण्डकी प्रदेशका इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले चैत महिनाभित्रै पार्टीका सबै तहको एकता टुङ्गिने बताउँदै पार्टी अध्यक्ष प्रचण्ड स्वदेश फर्किएपछि पार्टी एकता तत्कालै टुङ्गिने धारणा व्यक्त गरे । 






  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार १३:५२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया