लगानी सम्मेलनका ‘बिलेनियर वक्ता’

काठमाडाैं– १५ र १६ चैतमा हुने लगानी सम्मेलनमा आउने लगानीकर्ताहरुमध्ये वक्ताहरुको सूची लगानी बोर्डले सार्वजनिक गरिसकेको छ । सम्मेलनमा भाग लिन ३८ देशका ६ सय २ जना आउने भएका छन् । लगानी बोर्डका अनुसार सम्मेलनमा दुई थरी सत्रमा छलफल हुनेछ, एउटा प्यानल छलफल र अर्को वक्ताहरुको भाषण । 

लगानी बोर्डले सार्वजनिक गरेको सूचीअनुसार विदेशी लगानीकर्तामध्ये एकजना चाहिँ अर्बपति आउँदै छन् । उनी हुन्– भारतको मुथुट ग्रुपका अध्यक्ष जर्ज मुथुट । उनी लगानी सम्मेलनको उद्घाटन सत्रका वक्ता हुन् । 

सन् २०१८ मा फोब्र्स पत्रिकाले भारतका अर्बपतिको सूची जारी गर्दा मुथुट ८१ औं नम्बरमा परेका थिए । यसअघि सन् २०११ मा फोब्र्सको सूचीमा पर्दा उनको सम्पत्ति १.१ अर्ब अमेरिकी डलर थियो । त्यति बेला उनी भारतका ५० औं धनी व्यक्तिमा पर्थे । 

भारतका ८१ औं धनी व्यक्ति मुथुट सुनका कारोबारी हुन् । उनले सुन बाहेक बैंक, स्कुल तथा खाद्यान्न सामाग्रीमा पनि लगानी गरेका छन् । 

सन् १८८७ मा हजुरबुबा निनान् मथाई मुथुटले स्थापना गरेको कम्पनी मुथुट ग्रुपमा अहिले उनी अध्यक्ष छन् । सन् १९४९ मा जन्मेका मुथुटले सन् १९९३ देखि मुथुट ग्रुप समालेका हुन् । 

सुरुमा कपडा र खाद्यान्नको कारोबार गर्ने उनको हजुरबुबाको कम्पनीले अहिले सुनको कारोबार गर्छ । 



मनिपाल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङमा मास्र्टस गरेका उनी अटोमोबाइल र एयर कन्डिसनिङका विज्ञ पनि हुन् । उनले आफ्नो पहिलो काम नै पारिवारले चलाइरहेको बैंकबाट सन् १९७९ मा सुरु गरेका थिए । पछि उनी त्यही बैंकको प्रबन्ध निर्देशकसमेत बने । 

उनी अध्यक्ष हुने बेलासम्म उनको ग्रुपको चार प्रान्तमा ३१ वटा ब्रान्च थिए । अहिले उनीहरुको ग्रुपको ४ हजार ३ सय ब्रान्च पुगिसकेका छन् । उनीहरुका अहिले भारतभर ६० लाख ग्राहक छन् । अहिले उक्त ग्रुपले ४.५ खर्ब डलरभन्दा धेरै वार्षिक कारोबार गरेको बताइन्छ । 



मुथुटका दुई छोरा छन् । तीमध्ये जेठा छोरा मुथुट ग्रुपका कार्यकारी निर्देशक छन् भने कान्छा छोरा निर्देशक । उनका माहिलो छोराको सन् २००९ मा हत्या भएको थियो । 

मुथुटको घर केरला हो । त्यसैले केही अघि केरलामा गएको बाढीबाट प्रभावितहरुलाई २ सयभन्दा धेरै घर उनले निर्माण गरिदिएका थिए । 

मुथुट अहिले भारतको राष्ट्रिय कार्यकारी समितिको सदस्य तथा एफआईसिसिआई को अध्यक्षसमेत हुन् । 

मुथुट मात्रै होइन लगानी सम्मेलमा नेपालका एकमात्र अर्बपति विनोद चौधरीले पनि सम्बोधन गर्ने छन् ।

फोब्र्स पत्रिकाका अनुसार चौधरी विश्वका अर्बपतिको सूचीमा १३४९ औं स्थानमा छन् । उनीसँग अहिले १.७ अर्ब सम्पत्ति रहेको फोब्र्स पत्रिकाले जनाएको छ । 

  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार १४:४३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया