काठमाडौं– सरकारले आयोजना गरेको लगानी सम्मेलनको मिति नजिकिँदै जाँदा लगानी बोर्डको व्यस्तता पनि बढ्दो छ ।
आयोजकले लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई आकर्षण गर्न विभिन्न माध्यमको प्रयोग गरेको छ । सोही अनुसार आयोजकले ‘नेपालमा लगानी किन ?’ भन्ने प्रश्न र त्यसको उत्तरसहितको इन्फोग्राफ बनाएको छ । ‘नेपाल इन्भेस्टमेन्ट समिट’ नामको फेसबुक पेजमा त्यसलाई सेयर गरिएको छ ।
गत एक दशकमा निजी क्षेत्रको पुँजी निर्माण १४ प्रतिशत बढेको बताउँदै बोर्डले नेपालमा लगानीको राम्रो सम्भावना रहेको बताएको छ । यस्तै, सरकारको पुँजी निर्माण र निजी क्षेत्रको पुँजी निमार्णको दर एउटै भएकोले पनि नेपालमा लगानीको राम्रो सम्भावना रहेको इन्फोग्राफमा देखाइएको छ ।
यस्तै, अर्काे पोस्टमा नेपालको विदेशी मुद्रा सञ्चिती राम्रो रहेकाले पनि लगानीयोग्य वातावरण रहेको दाबी गरिएको छ । नेपालमा पछिल्लो एक दशकमा १०.३ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा रहेको जनाइएको छ ।
लगानी बोर्डले अहिलेसम्म विभिन्न ६ क्षेत्रका ७१ परियोजना विदेशी लगानीका लागि प्रस्ताव गरेको छ । जसमा सरकारका तर्फबाट ५३ तथा निजी क्षेत्रबाट १८ योजना प्रस्तावित छन् ।
बोर्डले पूर्वाधार ११, पर्यटन पूर्वाधार १०, ऊर्जा र कृषि क्षेत्रमा ८–८ र सहरी पूर्वाधार, शिक्षा तथा स्वास्थ्य र हवाई पूर्वाधारसँग सम्बन्धित ३–३ परियोजना प्रस्ताव गरेको छ । यस्तै, निजी क्षेत्रका १८ मध्ये ऊर्जा ११, पर्यटन पूर्वाधार ४ र ३ वटा उद्योगका परियोजना प्रस्ताव गरिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।