कति सम्भव छ फोरम–राजपा एकता ?

काठमाडौँ— अलग मधेसको माग गरेर राजनीति गरिरहेका सिके राउत मूलधारको राजनीतिमा आएपछि मधेस केन्द्रित दलहरु तातेका छन् । दुई दल राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले त एकअर्कासँग एकीकरण गर्ने छलफलसमेत गरेका छन् । राउतले त नयाँ पार्टी जनमत पार्टी घोषणा गरेर आगामि निर्वाचनमा होमिने निर्णयसमेत गरिसकेका छन् ।

तर, यी दुई दल एकीकरणको बहसमा आएको यो पहिलो पटक होइन । 

फोरमलाई राजपाले सात पार्टीको मोर्चामा हुँदै पार्टी एकता गरौँ भन्ने प्रस्ताव गरेको थियो । फोरमले यो प्रस्ताव अस्वीकार गरिदियो । 

फरक धारसँग कुराकानी गर्दै राजपा नेता राजेन्द्र महतोले भने, ‘त्यति बेला फोरम भाग्यो ।’ त्यसपछि ६ ओटा पार्टी मिलेर राजपा नेपाल बन्यो । तर, दुई महिनाअघि फोरमले राजपालाई एकीकरणका लागि पत्र पठायो– एकीकरण गर्यौँ । राजपाले त्यो पत्रको स्वागत गर्यो । 

त्यसैले यी दुई दलबीच एकताको कुरा अहिले उत्कर्षमा पुगेको छ । तर, एकता होला भन्नेमा चाहिँ विश्वस्त हुने वातावरण बनिसकेको छैन । ‘किनकि फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिएन, सरकार छोडेन भने एकता हुँदैन,’ महतोले भने । 

फोरमले पत्र पठाउँदा राजपाले पनि केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेको थियो । टिकापुर काण्डमा सांसद् रेशम चौधरीलाई अदालतले जन्मकैद सुनाएपछि उसले सरकारलाई दिएको समर्थन फिर्ता लियो । अर्कोतिर, चौधरीको विषयमा फोरम मौन छ । सरकारमा फोरमका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री छन् । 



राजपा र प्रधानमन्त्री ओलीबीच संविधान संशोधन लगायतका विषयमा पनि सहमति भएको तर केही कुरा पनि पालना नभएको आरोप महतोको छ । उनी भन्छन्, ‘हामीले पनि समर्थन गरेकै हो । तर एकसालमा केही अत्तोपत्तो छैन । संविधान संशोधन छैन । हाम्रा केही माग पूरा भएका छैनन् । उल्टै आन्दोलनकारीलाई आजीवन कारावासको सजाय दिएको छ । यस्तो अवस्थामा हामीले सरकारलाई समर्थन गर्ने औचित्य देखेनौँ ।’

मधेसका माग पूरा नगर्ने सरकारलाई समर्थन गर्नुको कुनै औचित्य नभएको भन्दै फोरमलाई महतोले सरकारको समर्थन छाडेर जनताकाबीचमा आउन आग्रह समेत गरेको महतोले बताए । 



राउतको राष्ट्रिय राजनीतिमा आगमनले केही हच्किएको राजपा ढिलो–चाँडो फोरमसँग पार्टी एकता गरेर अगाडि बढ्न चाहने विश्लेष्कहरु बताउँछन् । ‘यो मधेसको राजनीतिमा आफ्नो स्पेस जोगाइराख्न पनि अहिले एकीकरणको चर्को आवश्यकता छ,’ एक विश्लेषकले बताए । 

तर, महतो भन्छन्, ‘एकता त गरौँ, तर सरकार छोडौँ । पहिले सरकार छोेडेर उहाँहरु आए हामी एकता गर्छौँ र जनताबीच गएर काम गर्छौँ ।’

अर्कोतिर फोरम राजपासँगको एकता गर्न सरकार छाड्नु पर्ने सर्त आएपछि अन्योलमा परेको छ । यादवनिकट स्रोतका अनुसार अहिले नै यादव सरकार छोड्ने मनस्थितिमा छैनन् । तर, उनी राजपनासँग पनि एकता गर्न चाहन्छन् । यो समीकरण मिलाउने प्रयासमा उनी भएको उनीनिकट मधेस केन्द्रित एक नेताले बताए ।

उता, प्रदेश २ मा फोरम र राजपाले सरकार चलाइरहेका छन् । दुवै दल गत वर्ष प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मोर्चा बनाएर निर्वाचन लडेका थिए । फोरम र राजपाले तराईका अधिकांश सिटमा विजय हासिल गरेपछि पार्टी एकीकरणका लागि त्यतिबेलै दबाब बढेको थियो । तराईमा राउत समूह पनि मूलधारमा आउने, सत्तारूढ दल नेकपा बलियो हुँदै जाने र विपक्षी कांग्रेसले पनि तराईमा यसअघि गुमेको जनमत फर्काउन सक्ने सम्भावनालाई फोरम–राजपाले विश्लेषण गरिरहेका छन् । 

तर, एकअर्काका सर्तले यी दुईको एकीकरण तत्काल होला भन्नेमा आशंका गरिएको छ । 

 

मधेस मामिला विज्ञ काशीन्द्रप्रसाद यादवको टिप्पणीः

अहिलेको राजनीतिक परिदृश्यमा मधेसका यी दलहरुले आफूलाई असुरक्षित महसुस गर्न थालेका छन् । फोरम र राजपामा पनि त्यो असुरक्षा देखिन्छ । राजपा र फोरमको राज्य सत्तासामु हैसियत खुम्चिँदै गइरहेको छ । त्यसमा उनीहरूले पार्टीगत र राजनीतिक नेतृत्वको असुरक्षाको अनुभव गरिरहेका छन् । 

यति हुँदा हुँदै पनि यी दुई पार्टीबिच एकीकरण सहज छैन । पार्टीको गठन, सञ्चालन विधिमा दुवै पार्टीका नेताहरूको व्यक्तिगत महत्वकाङ्क्षालाई एक ठाउँमा ल्याएर पार्टी र संगठनको स्वरूपमा ढाल्नु गाह्रो काम हो । यी पार्टीहरू एकदम चरम संकटको बेलामा मात्रै मिल्ने हन् । हृदयमा जे भए पनि बाहिरबाट हेर्दा यो एकता ठिकै देखिन्छ ।

रेशम चौधरीका कारण राजपा सरकारविरुद्ध आक्रामक छ । राजपा सरकारविरुद्ध आन्दोलन गर्न चाहन्छ । मोर्चावन्दीका लागि राजपालाई फोरमको साथ चाहिन्छ । शक्ति सामथ्र्यका हिसावले राजपाभन्दा फोरम बलियो छ । उपेन्द्रलाई बाहिर नल्याएसम्म सरकारविरुद्ध मोर्चावन्दी गर्ने अवस्था पनि आउँदैन । त्यसैले पनि राजपाले फोरमलाई सरकार छाड्नु पर्ने सर्त राखेको हो । 
 

  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार १७:१३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया