प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा एपीएफले शीर्ष स्थनमा रहेर पहिलो प्लेअफ खेल्ने भएको छ । राजधानीमा जारी प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई ४७ रनले पराजित गरेको छ । मूलपानी मैदानमा एपीएफले निर्धारित ओभरमा ३ विकेट गुमाएर १२६ रन बनाएको थियो ।
एपीएफका लागि कप्तान सीता रानामगरले ५० बलमा ४४ रनको योगदान दिइन् । उनले ४ चौका प्रहार गरेकी थिइन् । यस्तै, इन्दू वर्माले २२ बलमा २८ रन बनाउँदा ३ चौका प्रहार गरेकी थिइन् । रोमा थापाले १९ बलमा १९ रन नटआउट बनाउँदा ममता चौधरीले ९ बलमा १२ रनको नटआउट पारि खेलिन् । ओपनर ज्योती पाण्डेले २१ बल फेस गर्दा १३ रन जोडिन् ।
बागमतीका लागि संस्कृति फुयाँल, मनिषा उपाध्याय र सेविका यादवले एक एक विकेट लिए । जवाफी लक्ष्यसहित मैदान उत्रिएको बागमति प्रदेशले निर्धारित ओभरमा ८ विकेट गुमाएर ७९ रनमात्रै बनाउँदा ४७ रनको हार व्यहोर्न पुग्यो ।
बागमतीका लागि सोनी पाख्रीनले ३९ बलमा २० रन बनाउँदा यसु पाण्डेले १८ बलमा १७ रनको पारि खेलिन् । अन्य खेलाडीहरुमा खुसी डंगोल १० रन तथा संस्कृति फुयाँला २ रनमा नटआउट रहँदा कञ्चन श्रेष्ठले ८, यसोदा विष्टले ५ र हेलिसा गुरुङले २ रन बनाए । कप्तान अस्मिना कर्माचार्य र सेविका यादव एक एक रनमा आउट भए ।
एपीएफका लागि सुमन विष्टले २ विकेट लिँदा सोनु खड्का, करुणा भण्डारी, नेरी थापा र सीता रानामगरले एक एक विकेट लिए । एपीएफको यो लगातार समूह चरणको सातौं खेल हो । जितसहित एपीएफ १४ अंकका साथ तालिकाको पहिलो स्थानमा रहेको छ । पराजित भए पनि वाग्मतीले अन्तिम चारमा स्थान भने पक्का गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।