बेड नम्बर १५० का ‘भाइरल’ विदेशी

पछिल्ला केही दिन सामाजिक सन्जालमा भाइरल छन्, एक विदेशी । बेलायती नागरिक भनिएका उनी नेपालमा कतै घुमघामको फोटो सार्वजनिक गरेकाले वा कुनै ‘एक्साइटिङ’ काम गरेकाले भाइरल भएका चाहिँ होइनन् । 

उनी त हलचल गर्न नसकी सुतिरहेका छन्, वीर अस्पतालको बेडमा । बेड नम्बर १५० मा । सेतै फुलेको कपाल, दुब्लो शरीर, शरीरभर घाउ भएका यी विदेशी स्पष्ट बोल्न सक्दैनन् । तर, आजभोलि उनको वरपर झुम्मिएका छन्, माइक्रोफोनहरु । रोगको गर्तमा आवाज हराएर जीवनसँग गुहार मागिरहेका यी बेलायती नागरिक हुन्– फिलिप्स ब्राड्ली । 

६५ वर्षका फिलिप्ससँग छैन आफ्नो परिचय एकिनका साथ खुलाउने कुनै कागजपत्र ।

तर, कुनै युद्ध जितेर गर्वसाथ नाम लेखाउने होड भए झैँ नेपाली मिडियाले उनलाई पछ्याइरहेका छन्, आवाज निस्कन अप्ठ्यारो भएको उनको घाँटीलाई चलायामान बनाउन प्रेसर दिइरहेका छन् । सौभाग्य भनौँ या दुर्भाग्य, मिडियाको यही एकोहोरो उत्साहका कारण भाइरल भएका फिलिप्सले अब वीर अस्पतालमा पाएका छन्, एक सहयोगी ।

जीवनलाई चलाउन नै सहयोगको आश गरिरहेका फिलिप्सलाई सहयोग गर्न पुगेकी हुन्, क्रिस्टिना । क्रिस्टिना श्रेष्ठको मन पनि फेसबुकमा फिलिप्सको रोदनसहितको पोस्ट देखेपछि पग्लिएको हो । कानुनकी विद्यार्थी क्रिस्टिनाको मन कति कोमल रहेछ भने उनले फेसबुकमा फिलिप्सबारे पढ्ने वित्तिकै पुगिन्, अस्पतालमा । ‘७ बजेतिर फेसबुकमा पढेकी थिएँ, आठ बजे त यहाँ नै आइपुगेँ,’ उनले भनिन् । 

अनि, एक्लिएका ती विदेशीको स्याहार गर्न थालिन् क्रिस्टिनाले । कानुनकी विद्यार्थी भएकाले सबकन्सस माइन्डले गाइड गरेको हुनुपर्छ, क्रिस्टिनाले पुग्नेवित्तिकै सबैभन्दा पहिले हेरिन् फिलिप्सका केही कागजात ।



त्यसपछि क्रिस्टिनाले पत्ता लगाएको फिलिप्सबारेको ‘रहस्य’ हो– उनकी श्रीमती केही समयअघि बितेकी रहिछिन् । हुन त उनकी छोरी पनि रहिछिन् तर कहाँ छिन् भन्ने पत्तो छैन ।

क्रिस्टिनाले भनिन्, ‘उनको यसअघि काठमाडौंका अरु अस्पतालमा पनि उपचार भएको रहेछ ।’



सोमबार राती ११ बजेसम्म फिलिप्सको हेरचाह गरेर फर्किएकी क्रिस्टिना मंगलबार दिउँसो पनि फिलिप्सको हेरचाहमा तल्लीन थिइन् । ‘एउटा विदेशी नेपालमा आएर जीवन मरणको दोसाँधमा रहेकाले मात्र सहयोग गरेकी हुँ, अरु पनि आएर सहयोग गरिदिए मलाई पनि सजिलो हुन्थ्यो,’ क्रिस्टिनाले मनको बह पोखिन् । 

तर, यी बेलायती कसरी नेपाल आइपुगे, कहिले आइपुगे, के गर्न आए वा के भएर बिरामी परे र अहिले याचना गरिरहेका छन् भन्ने कसैलाई पत्तो छैन । न पछिल्लो समय उनको सेवामा खटिएकी क्रिस्टिनालाई न त उनको उपचारमा संलग्न अस्पतालका चिकित्सकलाई । 

टेकु अस्पतालबाट वीर अस्पताल रिफर भएका आएका फिलिप्स खासमा हेपाटाइटिस बी र सीका बिरामी रहेछन् । उनको उपचारमा संलग्न चिकित्सक डा. रुपेश श्रेष्ठले भने, ‘उनको कलेजोमा पनि क्यान्सर भएको आशंका छ, यहाँ चाहिँ हेपाटाइटिस सीको उपचार भइरहेको छ ।’ 

तर, अब सामान्य उपचारबाट मात्र तंग्रिन सक्ने अवस्थामा छैनन् फिलिप्स । 

‘उनलाई आइसियुमा नै राख्नु पर्ने हुन्छ,’ डा श्रेष्ठले भने, ‘तर, यहाँ अहिले आइसियु खाली छैन । त्यसैले उनलाई अन्यत्र नै रिफर गरिन्छ होला ।’

२७ वर्षअघि देखि हेपाटाइटिसका बीले ग्रसित फिलिप्स अब यो अवस्थामा आफ्नो देश बेलायत फर्किन चाहँदैनन् । ‘मेरो बेलायतमा कोही छैन, किन जानु म त्यहाँ ?’ उनको कुरालाई उनको सहयोग गर्न पुगेकी क्रिस्टिनाले उद्धृत गरिन् । 

एकातिर आपत्‌मा परेकालाई सहयोग गर्नुपर्छ भन्ने भावनाले प्रेरित भइरहेकी छिन् क्रिस्टिना भने अर्कोतिर उनको उपचारमा संलग्न डा. श्रेष्ठ उनीबारे केही थाहा नपाएको र उनलाई जटिल रोग लागेकाले उपचार के गर्ने भन्ने अन्योलमा छन् ।

हुन पनि हेपटाइटिस बी र सीका बिरामी फिलिप्सले सामाजिक सन्जालमा राम्रो सान्त्वना पाइरहेका छन्, मिडियामा स्पेस पाइरहेका छन् । तर, उनको मनको स्पेसबाट उनकै देश बाहिरिइसकेको छ । न त उनीबारे उनको देशको दूतावासले थाहा पाएको छ वा थाहा पाएर पनि बेवास्ता गरेको छ ?

र, के उनको स्याहारमा लागेकी कानुनकी विद्यार्थी क्रिस्टिनालाई हेपाटाइटिस बी र सी भएका बिरामीको स्याहारमा कति सतर्क हुनु पर्छ भन्ने ज्ञान छ ? के उनको कोमल मनलाई पनि रोगहरुसँग सतर्क हुन पर्याप्त छ ?

सामाजिक सन्जाल आखिर यस्ता प्रश्नहरुमा मौन छ, मौन रहन्छ !

  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार २२:१२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया