एजेन्सी— चेन्नई सुपरकिंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को १२ औं संस्करणमा आफ्नो दोस्रो खेल पनि जितेको छ । मंगलबार भएको खेलमा उसले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको हो । दिल्लीले २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । चेन्नईले यो लक्ष्य १९.४ ओभरमा ४ विकेट गुमाएर भेट्ट्यायो । खेलमा महेन्द्र सिंह धोनीले ३२ रन र ड्वेन ब्राभोले ४ रन बनाएर नट आउट रहे ।
दिल्लीका लागि सबैभन्दा किफायती बलिङ अमित मिश्राले गरे । उनले चार ओभरमा ३५ रन दिएर २ विकेट लिए । कगिसो रबाडा तथा इशान्त शर्माको खातामा १–१ विकेट आयो । शेन वाटसनले चेन्नईका लागि सबैभन्दा धेरै रन बटुले । उनले २६ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४४ रन बनाएका थिए । उनलाई नै म्यान अफ द म्याचको उपाधि दिइयो ।
मंगलबारको खेलमा धोनी क्रिजमा आउँदा स्टेडियममा रहेकी उनकी छोरी जीवाको उत्साह क्यामेरामा क्याप्चर भएको थियो जुन अहिले भारतीय सामाजिक सन्जाल प्रयोगकर्ताबीच भाइरल भइरहेको छ । हिजोकै खेलमा सुरेश रैनाकी छोरी ग्र्यासिया रैना पनि थिइन् ।
महेन्द्र सिंह धोनीले मंगलबारको खेलमा एक छक्का हाने । उनले आइपिएलमा योसँगै १८७ छक्का हानेका छन् । उनी आइपिएलमा सबैभन्दा धेरै छक्का हान्ने भारतीय खेलाडी बनेका छन् । आइपिएलमा सबैभन्दा धेरै छक्का हान्ने खेलाडी चाहिँ क्रिस गेल हुन् । उनले २९६ छक्का आफ्नो नाममा दर्ज गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।