सरकारप्रति किन आक्रामक छन् राजेन्द्र महतो ?

काठमाडौं– राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो सरकारप्रति निकै आक्रामक देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारप्रति उनी आक्रामक हुनुको एउटा प्रमुख कारण हो, राजपाबाट निर्वाचित सांसद रेशम चौधरीलाई आजीवन कारावास पठाइनु । महतो सरकारसँग रिसाउनुको कारण त्यतिमा मात्रै सीमित छैन । 

प्रधानमन्त्री निर्वाचित भएपछि ओलीले संविधान संशोधनलगायत विषयमा राजपासँग सम्झौता गरेका थिए । सरकार गठन भएको एक वर्ष बितिसक्दा पनि राजपाका माग पूरा हुने अझै कुनै गुन्जायस छैन । सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि महतोबाहेक राजपाका अन्य नेताले सार्वजनिक रूपमा कडा अभिव्यक्ति दिएको कमै सुनिन्छ । तर, महतो भने बारम्बार सरकार र प्रधानमन्त्री ओलीलाई गाली गरिरहेका हुन्छन् । महतोले केही दिनअघि मात्रै राजधानीमा भएको एक कार्यक्रममार्फत पनि प्रधानमन्त्री ओलीलाई बालुवाटारमा बसेर दम्भ नदेखाउन चेतावनी दिए । 

राणाशासनदेखि ज्ञानेन्द्र शाहसम्मको दम्भ जनताले तोडिसकेको बताउँदै महतोले प्रधानमन्त्री ओलीलाई दुईतिहाइको दम्भ छाड्न चेतावनी दिए । महतोले भनेका थिए, ‘बालुवाटारमा बसेर दम्भ नदेखाउनुस् ।’ महतोले ओलीलाई चेतावनी मात्र दिएनन्, नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई समेत ओलीको पछाडि नलाग्न भन्दै जनताको सपना पूरा गर्नतिर लाग्न सुझाब दिए ।  

सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै महतोले भने, ‘सरकार असफल भयो । केही गरेकै छैन, कसरी सफल हुन्छ ?’ प्रधानमन्त्री ओलीप्रति निकै आक्रामक देखिएका महतोले भने, ‘सिके राउतको प्रवक्ता बनिहाल्नुभयो प्रधानमन्त्री ! के चाहियो र अब ?’

सरकारको कार्यशैलीप्रति जनताले आलोचना गरेको बताउँदै उनले सरकारलाई सच्चिएर अघि बढ्न आग्रह गरे । जनभावनाअनुसार काम नगरे जनताले माफी नदिने उल्लेख गर्दै उनले जनताको मतको सम्मान गर्न सुझाब दिए । 

प्रधानमन्त्री ओलीलाई लोकतन्त्र, संघीयता, गणतन्त्र व्यवस्थाप्रति कुनै मतलब नभएको भन्दै महतोले आफूले यसबारे प्रचण्डसँग बेलाबेलामा कुरा गर्ने गरेको सुनाए । ‘प्रचण्डलाई म पटक–पटक भन्ने गर्छु, केपी ओली संघीयता, गणतन्त्र, लोकतन्त्रको मतलब नभएको व्यक्ति हो,’ उनले भने, ‘तर तपाईं (प्रचण्ड) त १० वर्ष त्यसैका लागि लडेको हो ।’



सोही कार्यक्रममा उपस्थित डा.बाबुराम भट्टराईलाई देखाउँदै उनले भने, ‘त्यसबेला डा. सा’ब सँगै हुनुहुन्थ्यो । साक्षी किनारा यहीँ हुनुहुन्छ । १७ हजार नेपाली नागरिकका सन्तान मारिए । यही पहिचान, अधिकार, संघीयता, गणतन्त्रका लागि मारिए ।’ प्रधानमन्त्री ओलीझैँ प्रचण्ड पनि जनताप्रति इमानदार नभएकोे टिप्पणी गर्दै उनले प्रश्न गरे, ‘तपाईंलाई चैँ के भयो ? जो कमसे कम लड्यो, उसैले जनतालाई धोका दिनु त भएन नि !’

‘आफू कुर्सीमा बस्ने अनि जनताको प्रतिनिधिलाई कारावास पठाइदिने ? प्रचण्डप्रति लक्षित गर्दै महतोले भने, ‘केपी ओलीले सपना देखाउनुभएको होला, तर तपाईंले देख्नुभएन नि !’



प्रचण्ड माफीको लायक नभएको बताउँदै उनले भने, ‘तपाईंले आन्दोलन गर्नुभयो । प्रधानमन्त्री बन्नुभयो । त्यो थारूको छोरा अधिकारको आन्दोलन गर्दा आजीवन कारावासमा ठेलिदिनुपर्ने ? यसैको लागि लडेको हो ? तपाईं माफीको लायक हुनुहुन्न ।’

राजेन्द्र महतोबारे के भन्छन् राजनीतिक विश्लेषक ?

कृष्ण पोखरेल 

राजेन्द्र महतो कडा बोल्ने नेता हुन् । पार्टीभित्र बोल्ने नेताको छवि नै बनाएका छन् । मधेस आन्दोलनका बेलामा पनि उनले नाकामा बसेर काठमाडौं आउने दानापानी बन्द गराए भन्ने कुरा बाहिर आएको थियो । अर्को कुरा, पार्टीमा जुन असन्तुष्टि छ, त्यो असन्तुष्टिलाई पुँजीकृत गर्ने र बोलेरै नेता हुन सकिन्छ भन्ने मान्यता त्यसको पछाडिको कारण होला । 

काशिन्द्रप्रसाद यादव

राजेन्द्र महतो राजनीतिक धरातलबाट आएको नेता हो । धरातल भन्नाले उहाँको ऐेकेडेमिक क्वालिफिकेसन छ । जुन हिसाबले राजनीतिमा पदार्पण गर्नुभयो, त्यसको रिफ्लेक्सन पनि हो । उहाँ क्रुद्ध र ठोस रूपमा अभिव्यक्त गर्ने नेता हो । राजनीतिक रूपमा त्यसको प्रभाव देखिन्छ । पब्लिकमा पनि त्यो बोली बिक्दो रहेछ । सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा त्यस्तो बोली बिक्छ । त्यसकारण राजेन्द्र महतोको प्रोत्साहन भइरहेको छ । 

  • प्रकाशित मिति : चैत १३, २०७५ बुधबार १६:१८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया