चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार चालू आर्थिक वर्षमा तीन हजार दुई सय ५४ जनामा गरिएको परीक्षणमा एक सय ६३ जनामा उक्त संक्रमण देखिएको थियो । संक्रमितमध्ये चारजनाको मृत्यु भएको हो । ती संक्रमितमध्ये ८८ जना चितवनकै र बाँकी अन्य जिल्लाका थिए ।
गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका तीन हजार चार सय ८५ जनाको परीक्षणमा पाँच सय १९ जनामा उक्त संक्रमण देखिएको थियो । संक्रमित सबै उपचारपछि घर फर्किएका थिए ।
स्क्रब टाइफस ओरिएन्टा सुसुगामुसी नामको ब्याक्टेरियाबाट हुने संक्रामक रोग हो । साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइट्स) लाई संक्रमण गर्छ । सोही संक्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्छन् । संक्रमित किर्नाले टोकेको मुसा वा जनावर मानिसको सम्पर्कमा आएर शरीरमा टाँसिए वा टोकेमा स्क्रब टाइफस सर्ने गर्छ ।
यो रोग लागेका मानिसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, पखालाले सताउने, श्वास फेर्न समस्या हुने, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, बिमिरा देखिने र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने निरीक्षक केसीले बताए ।
यसैगरी गत साउनयता जिल्लामा २१ हजार दुई सय ९८ जनामा गरिएको परीक्षणमा डेंगुबाट संक्रमण हुनेको संख्या एक हजार छ सय १५ पुगेको छ । जिल्ला बाहिरका एकजनाको सोही रोगका कारण मृत्यु भएको उनले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।