माघे सङ्क्रान्ति आउनै लाग्दा काठमाडौंको टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलन रहेकाले यस दिन अन्य समयभन्दा बढी खपत हुने गर्दछ ।
टोखाका उद्योगमा हाल सादा, मसला र स्पेसल चाकु तथा सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुस्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् । यस वर्ष चाकुको माग अनुसार उत्पादन बढाउन गारो भएको टोखाका उद्यमी न्हुँच्छे नारायण श्रेष्ठले बताउँछन् । उनले धेरै वर्षदेखि नै यही पेसामा अंगालेको भन्दै यसपालि पहिलाको भन्दा बढी व्यापार भइरहेको बताए ।
उनले भने, ‘चाकुको व्यापार यसपालि विगतभन्दा धेरै भइरहेको छ । माग अनुसारको काम गर्न नै समय पुगिरहेको छैन । राम्रो व्यापार भइरहेको छ । यो पहिलादेखि नै हाम्रो बाबुबाजेहरूले गर्दै आउनुभएको पेसा हो ।’
यस्तै, सोही स्थानका व्यापारी मनदेवी जोशीले पनि टोखाको चाकु स्वास्थ्यका हिसाबले र सुत्केरीहरूको लागि पनि उपयोगी मानिएकाले चर्चा पाएकाले यसपालि पहिलाभन्दा राम्रो व्यापार भएको बताए ।
उनले भने, ‘टोखाको चाकु पहिलादेखि नै चर्चामा आएको हो । चाकुले स्वास्थ्यको लागि राम्रो गर्ने र सुत्केरी अवस्थामा पनि खान मिल्ने भएकाले सबैको मन पनि पराउनु भएको छ । यसको माग पनि धेरै आएको छ । पहिलाको सालभन्दा पनि धेरै राम्रो व्यापार भइरहेको छ । धेरै राम्रो हुँदै गएको छ ।’
टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा मात्र नभई नारायण घाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहर बजारसहित विदेशसमेत निर्यात हुने गरेको छ । सख्खरलाई पकाएर राम्रोसँग फिटेपछि निर्माण हुने चाकु माघे सङ्क्रान्तिमा खानै पर्ने परिकारको रूपमा प्रख्यात छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।