पुरुषबाट बच्न स्तनको आइरनिंग

ब्रेस्ट आइरनिंग अर्थात छातीलाई तातो प्रेसले दबाउनु । यस परम्पराअनुसार किशोरीहरुको छातीमा कुनै तातो वस्तुले दबाइन्छ ताकि उनीहरुको स्तन छिटै बाहिर नदेखियोस् र पुरुषहरुको नजर नपरोस् । 

यो चलन विशेषगरी पश्चिमी अफ्रिाकाबाट सुरु भएर अहिले बेलायतलगायत युरोपका केही देशसम्म फैलिएको छ । 

बेलायतको नेशनल एजुकेशन युनियनले ब्रेस्ट आइरनिंगको बारेमा विद्यालय शिक्षाको पाठ्यक्रममा समावेश गरेर जनचेतना बढाउँदै लैजानुपर्ने र बालिकाहरुलाई यसबाट बचाउनुपर्नेमा जोड दिँदै आएको छ । 

रुन दिएनन् 

किनाया (नाम परिवर्तन) बेलायतमा बस्छिन् । उनको परिवार पश्चिमी अफ्रिकाबाट आएका हुन् । ब्रेस्ट आइरनिंगको सुरुवात पनि यही क्षेत्रबाट भएको थियो । 

१० वर्षको उमेर उनले यस्तो चलन भोग्नुपर्यो । 



उनकी आमाले भनेकी थिइन् ‘यदि तिमीले यस्तो नगरे, पुरुषहरु तिमीसँग जबरजस्ती शारीरिक सम्बन्ध राख्न खोज्छन् ।’

धेरैजसो आमाहरुले नै आफ्ना छोरीको ब्रेस्ट आइरनिंग गर्छन् । 



यस प्रक्रियामा एउटा ढुंगा वा चम्चालाई आगोमा तताइन्छ, अनि बालिकाहरुको छातीमा बेस्सरी दबाइन्छ, जसबाट उनीहरुको छाती समतल होस् । 

यो प्रक्रिया लामो समयसम्म चल्छ । 

किनाया भन्छिन् ‘हामीलाई रुनसम्म पनि दिइँदैन्, यदि रोइयो भने परिवारलाई लज्जित गराएको भन्ने बुझिन्छ, तिमी बलियो छोरी होइन् ।’

किनाया ठूली भइसकेकी छन्, उनका दुई छोरी पनि छन् । किनायाकी आमाले उनका छोरीको ब्रेस्ट आइरनिंग गर्न सल्लाह दिन्छिन् । 

किनाया भन्छिन् ‘म मेरी छोरीलाई यस्तो दर्दनाक हालतमा पुर्याउन चाहन्न, मलाई त्यसको पीडा आजसम्म पनि महसुस हुन्छ ।’

उनी आफ्नो परिवारबाट अलग बस्छिन् । परिवारले उनको मन्जुरीबिना पनि छोरीहरुलाई त्यस्तै पीडा दिनेछन्, यही डरले उनी परिवार छोडर बसेकी छन् । 

एक अनुमानअनुसार बेलायतमा पनि करिब एक हजार बालिकाहरु यस्तै पीडाबाट गुज्रिरहेका छन् । 

‘ब्रेस्ट आइरनिंग सामान्य कुरा होइन्, शारीरिक शिक्षा पढ्ने क्रममा आइरनिंगबाट पीडित साथीहरुमा मानसिक समस्या देखिन्छ’ आफ्ना सहपाठीको पीडालाई नजिकबाट देखेकी एक छात्रा बताउँछिन् । 

ब्रेस्ट आइरनिंगको समस्या समाधान गर्न विद्यालय शिक्षादेखि नै यसबारेमा पढाइनुपर्ने नेशनल एजुकेशन युनियनकी सह–अध्यक्ष किरी टुंक्स बताउँछिन्, ‘यो महिलामाथि भइरहेको यौन शोषणको नयाँ तरिका हो, यसलाई शिक्षाको माध्यमबाट रोक्न आवश्यक छ ।’ 

भिक्टोरिया डर्बिसायर कार्यक्रममा ब्रेस्ट आइरनिंगकी पीडित सिमोन भन्छिन् ‘तेह्र वर्षको उमेरमा मेरो ब्रेस्ट आइरनिंग गरिएको थियो । केही महिनासम्म यो प्रक्रिया चलिरह्यो । पछिसम्म स्तन बाहिर नदेखियोस भनेर छातीमा कसिलो पट्टी बाँधिएको थियो । जब म आमा बने, त्यसपछि यसको असर मलाई थाहा भयो । मेरा बच्चालाई दुध पिलाउँदा स्तनभित्र केही गाँठा भएको महसुस गरे, मेरा स्तनका केही नसा बर्बाद भएको जस्तो मलाई लाग्यो ।’

लुकेको अपराध 

ब्रेस्ट आइरनिंग कानुनको भाषामा कुनै अपराध होइन् । बेलायती गृह मन्त्रालयले यसलाई बाल शोषणको श्रेणीमा राखेर हेर्छ र सामान्य कानुनको माध्यमबाट मुद्दा चलाउँछ । 

सुरक्षा लेक्चररको काम गर्ने पूर्व स्त्री रोग विशेषज्ञ एन्जी म्यारियट भन्छिन् ‘यसका केसहरु प्रहरीसमक्ष पुग्दैनन् यसकारण यो परम्पराको बारेमा स्पष्ट जानकारी छैन ।’ 

म्यारियटका अनुसार यो संवेदनशिल र लुकेको अपराध हो । महिलाहरु सामाजिक दबावका कारण बोल्न डराउँछन् । उनीहरु यो विषयमा बोल्दा समाजले बहिष्कार गर्न सक्ने डर महिलामा छ । 

सीमोनको शरीरमा अझै यो शोषणको निशान छ, उनी चाहन्छिन् अरु कुनै छोरीहरु यस्तो अवस्थाबाट गुज्रिन नपरोस् । उनी यस अपराधको बारेमा जनचेतना फैलाइरहेकी छन् । 

उनी भन्छिन् ‘यो एक किसिमको शोषण हो, यसमा पीडा हुन्छ, यसले तपाईलाई अमानवीय बनाउँछ, यस्तो लाग्छ तपाई मानिस नै होइन् ।’

  • प्रकाशित मिति : चैत १४, २०७५ बिहीबार १०:१५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया