भैरव रिसाल फ्ल्यासब्याकः राणा र शाह शासनमा जात लिइन्थ्यो, दिइन्थ्यो

वरिष्ठ पत्रकार भैरव रिसालको रेडियो कार्यक्रम उहिले बाजेको पालामा निकै चर्चित थियो । तीन वर्षअगाडि सम्म पनि रिसालले यो कार्यक्रम चलाउँथे । पत्रकारहरु कनकमणि दीक्षित, रघु मैनाली, रिसाललगायतको आइडियाबाट जन्मिएको यो कार्यक्रम रिसालले निकै वर्ष चलाए । त्यही कार्यक्रमसँगका उनका सम्झना उनले फरक धारका रमेश दवाडीलाई सुनाएका छन्ः

 

मागेर पाइने जात 

मेरो कार्यक्रमका पहिलो अथिति थिए सिद्धिगोपाल वैद्य । उहाँले कार्यक्रम १४÷१५ पुस्ता अगाडिका कुरा सुनाउनु भयो । दरबारमा एउटा नानी बिरामी भइन् । सिद्धी बाजेका पुस्ताले गएर उपचार गरे । तर, बच्चा बचेन । बच्चा बचाउन नसकेको भनि दरबारले पोडे बनायो वैद्यको पुस्तालाई । राणा शासनमा, शाह शासनमा जात दिन पनि सक्थे, लिन पनि सक्थे । पछि अर्कौ नानी बिरामी परिन् दरबारमा । सबैभन्दा जान्ने वैद्यहरू तिनै रहेछन् । फेरि वैद्यलाई बोलाउन पठाए । 

माथिल्लो तलामा रहेकी बिरामीलाई छोइन्छ भनेर पोडेलाई माथि जान दिएनन् । काँचो धागो बिरामीको नाडीमा बाँधेर टेलिस्कोप जसरी जाँचेछन् । जाँचेर औषधी दिएपछि निको भयो । त्यसपछि वैद्यलाई बोलाएर पुरस्कार दिए । वैद्य दङ्ग भएर पुरस्कार लिए । बाहिर आउँदा उनका हितैसीसँग भेट भएछ । वैद्यलाई उनका हितैसीले ‘जात मागिनस् ? हे मूर्ख !’ भनेछन् । 

फेरि पनि अर्को नानी विरामी भइछन् । वैद्य फेरि दरबार गए । उपचार भयो । दरबारले पुरस्कार दिन खोज्दा यसपटक चैं वैद्यले जात मागेछन् । ‘सरकार, जात पाऊँ’ भनेर हात जोडेछन् । राजाकी आमाले भनिछन्, ‘जसरी पनि जात देऊ बाबु’ । भारदारीसभा नबसी जात दिन मिल्ने चलन रहेन । राजाले भारदारीसभा बसाएर निर्णय गरेपछि वैद्यले जात फिर्ता पाएछन् । हामीले उहिले बाजेका पालामा यस्ता घटनालाई बजाउँथ्यौँ । 



 

जनकेशरी धर्मराज थापाको मृत्युको त्यो खबर 



जनकवि केशरी धर्मराज थापासँगको एउटा घटना अहिले पनि म सम्झन्छु । उहाँ २००७ सालपछि लोकगीत संकलन गर्न मनाङ जानुभएको रहेछ । समाज भन्ने पत्रिकामा उहाँको मृत्युको खबर छापियो । म रेडियोमा कुरा गर्दे थिएँ उहाँसँग । त्यतिखेरै उहाँलाई खोकी लाग्यो । रेडियोमा कुराकानी गरिरहँदा उहाँले खोक्न अलिक अप्ठ्यारो मान्नुभयो । जिउँदो मान्छेले खोक्छ, मरेको मान्छे पो खोक्दैन, किन त्यसो गर्नुभएको भनेर सोधेँ मैले । उहाँले म त नमरिकन म¥यो भनेर समाजमा छापियो भन्ने घटना सुनाउनुभयो । भएछ के भने, धर्मराज थापा लोकगीत संकलन गरेर मनाङबाट पोखरा आउनुभएछ । यताबाट पोखरामा नेपाल बैंकको शाखा खोल्न नरप्रताप शम्शेर थापा (पछि परराष्ट्र सचिव पनि भएका थिए) को टिम गएको रहेछ । 

अखबारमा म¥यो भनेर समाचार लेखिएको रहेछ, तर उहाँ त ज्यूँदै हुनुहुन्छ । तपाईंलाई त म¥यो भनेर समाजमा छापिएको छ भनेर नरप्रतापले भन्नुभएछ । उहाँलाई तुरुन्त काठमाडौं गएर समाजका सम्पादक भेट्न नरप्रतापले सल्लाह दिनु भएछ । अनि धर्मराज थापा काठमाडौँ आएर समाजका सम्पादक मणि दाईकहाँ जानुभएछ । त्यसपछि खासै त्यस्तो केही भएन । तर, उहिले बाजेको पालामा धर्मराज थापालाई खोकी नलागेको भए र मैले मरेको मान्छेले पो खोक्दैन नभनेको भए यो कुरा यसै हराउँथ्यो, उहिले बाजेका पालामा आउन सक्दैनथ्यो । 

 

अलिखित इतिहासको रेकर्ड 

लोकदर्शन ब्रजाचार्य राजाको निजी सचिव हुनुहुन्थ्यो । पछि उहाँको जागिर खोसियो । जेल पनि पर्नुभयो । लुम्बिनी विकास कोषको अध्यक्ष पनि हुनुभयो । उहाँको उत्थान र पतन दुवै छ जीवनमा । दरवारसँग सम्बन्धित उहासँग लामो इतिहास छ । उहाँलाई मैले कुरा गर्न रिक्वेस्ट गरेँ । उहाँसँग कुरा गर्नु मेरो आचारसंहिता भित्र नै पथ्र्यो । तर, उहाँ मभन्दा कान्छो हुनुहुन्थ्यो । तर, मैले उहाँलाई भनेँ– जेठो भनेको बुद्धीले, अनुभवले हुन्छ भनेको थिएँ । 

उहाँसँग मैले कार्यक्रममा आठ एपिसोड कुरा गरेँ । मैले भन्न खोजेको के हो भने, इतिहास भएको मान्छे, इतिहास नभएको मान्छे, निरक्षर मान्छे, गाउँको मान्छे, शहरको मान्छे, भारी मात्रै बोकेर हिंड्ने मान्छे, जो–जो मेरो सम्पर्कमा आए उहाँहरूसँग मैले कुराकानी गरेँ । मैले अलिखित इतिहासलाई रेकर्ड गरेँ । त्यस्तै, सामान्य मान्छेलाई मेरो त के कुुरा हुन्छ र ? मेरो त कथा हुँदैन, भन्ने एउटा आत्मविश्वास नहुने रहेछ । मभन्दा धेरै वर्ष बाँचेकासँग त्यो बेलामा म कुराकानी गर्थें । मान्छे धेरै वर्ष बाँच्दैन, बाँचे त्यसमा कथा त हुन्छ । मैले खोतल्नु पर्छ भनेर, म जसलाई पनि प्रोत्साहित गर्थें ।

  • प्रकाशित मिति : चैत १४, २०७५ बिहीबार ११:२०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया