logo-img

ती दिन ती पात्र : माघ ५ र गणेशमान सिंह

महिना माघको थियो र साल थियो–२०४६ । अर्थात् आजभन्दा ठीक ३४ वर्षअघिको माघ ५ गते । कार्यक्रम थियो– नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलन । अनि स्थान थियो– काठमाडौंस्थित चाक्सीबारी । ती दिन र ती पात्र थिए– गणेशमान सिंह । उनकै निवास परिसरमा यस दिन भएको ऐतिहासिक कार्यक्रमले नेपाली राजनीतिको कम्पास नयाँ दिशातिर घुम्दै थियो । 

पञ्चायती शासन व्यवस्थाको विकल्पमा प्रजातान्त्रिक शासन व्यवस्था ल्याउन माघ ५ गते कांग्रेस  र संयुक्त वाम मोर्चाले जनआन्दोलन गर्ने औपचारिक सहमति गरेका थिए । कांग्रेसका कार्यवाहक अध्यक्ष  कृष्णप्रसाद भट्टराई र संयुक्त वाममोर्चाकी अध्यक्ष सहाना प्रधानको संयुक्त हस्ताक्षरबाट ३० वर्षे पञ्चायती व्यवस्थाविरुद्धको जनआन्दोलन अगाडि बढाउने सहमति भएको थियो, त्यो आजकै दिन हो ।

माघ ५ गतेकै दिन भएको एउटा घोषणा नेपाली राजनीतिमा कोसेढुंगा साबित भयो । त्यस दिन पञ्चायती शासन व्यवस्थाविरुद्ध देशव्यापी रूपमा जनआन्दोलन गर्ने सहमति भयो र आन्दोलनको मिति तोकियो, २०४६ साल फागुन ७ देखिका लागि । त्यही सहमतिले पञ्चायत हटाएर बहुदलीय शासन व्यवस्था फर्काउने घोषणा भयो ।

माघ ५ गतेको कांग्रेसको उक्त कार्यक्रममा वाम मोर्चाका तर्फबाट मनमोहन अधिकारी, मोहनचन्द्र अधिकारी, सहाना प्रधान, भरतमोहन अधिकारीलगायत वामपन्थी नेताहरूको उपस्थिति त थियो नै भारतका दिग्गज राजनीतिज्ञहरू पनि प्रमुख अतिथि थिए । 

गणेशमान सिंहको चाक्सीबारीस्थित निवास परिसरमा भारतीय समाजवादीदेखि वामपन्थी दलका नेताहरू हरकिसन सुरजितदेखि चन्द्रशेखर मात्र उपस्थित थिएनन्, उनीहरूले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको प्रजातन्त्र पुनर्स्थापनाको लडाइँमा भारतीय जनताको साथ रहेको पनि बताउँदै आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए ।

उक्त दिन कार्यक्रममा सहभागी वाम मोर्चाका नेता भरतमोहन अधिकारीले आफ्नो पुस्तक, ‘मेरो जीवन यात्रा केही सम्झनाहरू’ मा पनि लेखेका छन्,– चाक्सीबारीभरि मानिसको भीड थियो । त्यहाँ बहुतै उत्साहपूर्ण वातावरण थियो । हामीले त्यो कम्पाउन्डभित्र प्रजातन्त्र आएको अनुभूति गर्‍यौँ ।



तस्बिर : मीन बज्रचार्यबाट

त्यो दिन चाक्सीबारीको केन्द्रमा थिए, गणेशमान सिंह । उक्त कार्यक्रममा देखिएको सहभागिता र नेताहरूको भाषणबाट उनी  निकै उत्साही देखिन्थे । एक पटक मसँगकै अन्तर्वार्तामा गणेशमान सिंहले भनेका थिए– मलाई त्यही दिन लागेको थियो, अब प्रजातन्त्र आयो, आयो । त्यो पनि ढिलो हैन, केही दिनमै आयो ।



उक्त कार्यक्रम भएको एक महिना दुई दिनपछि अर्थात् फागुन ७ गतेदेखि देशव्यापी रूपमा जनआन्दोलनको सुरुवात भयो । २०१७ साल पुस १ गतेबाट सुरु भएर २९ वर्ष ३ महिनासम्म चलेको पञ्चायती व्यवस्था ढलिछाड्यो ।

चैत २६ गते मध्यरातदेखि पञ्चायती व्यवस्थाको अन्त्य मात्र भएन, बहुदलीय प्रजातन्त्र पुनर्स्थापना पनि भयो । निर्दलीय शासन व्यवस्था ढल्यो । बहुदलीय व्यवस्थाको आधार स्तम्भ खडा भयो । सक्रिय राजतन्त्र संवैधानिक हुन पुग्यो । देशमा प्रजातन्त्रको बिहानी आयो ।

जनआन्दोलनको अवधिमा एउटा पात्र सधैँ केन्द्रमा रहे । ती थिए, उनै महान् राजनीतिज्ञ– नेपाली राजनीतिका सर्वोच्च नेता तथा जनआन्दोलनका कमान्डर गणेशमान सिंह । 
यसैले त उनलाई भनियो– लौहपुरुष । 

  • प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया