म्यानमारको सेनाप्रति वफादार जुन्टा सरकारसँग लडिरहेका सशस्त्र विद्रोहीको आक्रमणबाट भाग्न करिब ३ सय सैनिक सीमा पार गरी भारत प्रवेश गरेका छन् । गत नोभेम्बरमा अराकान आर्मी (एए) ले सुरक्षा फौजमाथि आक्रमण गरेपछि म्यानमारको भारतीय सीमा नजिकको केही भागमा तनाव बढेको थियो ।
यसै हप्ता उक्त समूहले भारतको मिजोरम राज्यको सिमानामा रहेको प्रमुख सहर पालेतवा र छवटा सैन्य अखडा कब्जा गरेको बताएको थियो । आसाम राइफल्स अर्धसैनिक बलका अधिकारीले नाम नबताउने सर्तमा एएफपीसँग भने, ‘हतियार र गोलाबारुदसहित कूल २७६ सैनिक बोन्डुकबाङ्सोरा गाउँमा आइपुगेका छन् । हामीले उनीहरूलाई हाम्रो क्याम्पमा आश्रय दिएका छौँ । आउने सैनिकलाई आवश्यक पर्ने सबै सहयोग दिइएको छ ।’
अधिकारीका अनुसार भारतीय सेनाको युनिटले ती सैनिकबाट बायोमेट्रिक डाटा सङ्कलन गरिरहेको छ र उनीहरूलाई म्यानमार फिर्ता गर्न नयाँ दिल्लीस्थित रक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार गत नोभेम्बरमा युद्धविराम अन्त्य भएयता म्यानमारका अन्य सयौं सैनिक युद्धबाट बच्न भारततर्फ भागेका छन् । द्वन्द्वबाट पछि हटेका सैनिकलाई लिन र स्वदेश फर्काउन म्यानमारका दुई सैनिक विमान मिजोरमको राजधानी आइजोल आइपुगेका छन् ।
गत अक्टोबरमा एए र अन्य दुई जातीय अल्पसङ्ख्यक सशस्त्र समूहको गठबन्धनले म्यानमारको उत्तरी शान राज्यमा संयुक्त आक्रमण गर्दै सहरहरू कब्जा गरेको थियो ।
गत हप्ता गठबन्धनले शान राज्यमा चीनको मध्यस्थतामा युद्धविरामको घोषणा गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।