अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरूले ट्रम्पलाई यस वर्षको राष्ट्रपति चुनाव लड्न प्रतिबन्ध लगाइएमा अराजकता र अशान्तिको स्थिति उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् ।
ट्रम्पका वकिलहरूले बिहीबार अमेरिकी सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा यस्तो दाबी गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रिपब्लिकन पार्टीबाट चुनाव लड्ने प्रबल दाबेदार ट्रम्पको नाम कोलोराडोजस्ता अन्य राज्यका अदालत र अधिकारीहरूले प्राथमिक मतदानबाट हटाउने निर्णय गरेमा अराजकताको अवस्था सिर्जना हुने वकिलहरूले बताएका छन् ।
सर्वोच्च अदालतले कोलोराडोको निर्णयलाई उल्टाउन पनि उनीहरुले माग गर्दै ट्रम्प संविधानको धारा ३ मा दिइएको नियममा नपर्ने पनि जिकिर गरेका छन् ।
गत महिना, कोलोराडो सर्वोच्च अदालतले ट्रम्प संवैधानिक रूपमा २०२४ को चुनावमा भाग लिन योग्य नभएको फैसला गरेको थियो ।
२०२१ को संसदमा भएको हुलदंगा र आक्रमणकारीलाई उक्साएको आरोपमा त्यहाँको अदालतले फैसला गरेको थियो ।
यसैबीच, एक अदालतले ट्रम्पलाई प्राथमिक मतदानमा भाग लिनबाट रोक्न वासिंगटन राज्यको प्रयासलाई अस्वीकार गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।