आज सोमबार मध्यान्ह उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको परम्परागत संस्कृति अनुसार प्राणप्रतिष्ठा हुँदै छ। यो कार्यक्रम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्वमा सम्पन्न गरिँदै छ ।
भगवान रामको बाल्यावस्था स्वरूप राम लल्लाको मूर्तिको ‘प्राण प्रतिष्ठा’ मा देशका प्रमुख आध्यात्मिक तथा धार्मिक सम्प्रदायका प्रतिनिधि, विभिन्न जनजाति समुदायका प्रतिनिधिलगायत सबै क्षेत्रका मानिसको सहभागिता रहनेछ ।
आज दिउँसो १२ बजेर २० मिनेटमा सुरु हुने यो समारोह दिउँसो १ बजे समापन हुने गरी तयारी गरिएको मन्दिर व्यवस्थापनले जनाएको छ। त्यसपछि प्रधानमन्त्री मोदीले धार्मिक सभालाई सम्बोधन गर्नेछन्।
प्रधानमन्त्रीले मन्दिर निर्माणसँग सम्बन्धित श्रमजीवीहरूसँग पनि कुराकानी गर्ने राम मन्दिरको निर्माण र व्यवस्थापनको नेतृत्व गरेका श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका एक सदस्यले बताएका छन् । प्रधानमन्त्री मोदीले प्राचीन शिव मन्दिरको जीर्णोद्धार गरिएको कुबेर टिलाको पनि भ्रमण गर्नेछन्। उनले त्यहाँ पूजा गर्नेछन्।
राम जन्मभूमि मन्दिर वा राम मन्दिर परम्परागत नगारा शैलीमा निर्माण गरिएको छ। यसको लम्बाइ (पूर्व–पश्चिम) ३८० फिट छ भने चौडाई २५० फिट र उचाइ १६१ फिट रहेको छ। यो मन्दिरमा ३९२ स्तम्भ छन् भने र ४४ वटा कलात्मक ढोका छन्।
मन्दिरका स्तम्भ र पर्खालहरूले हिन्दु देवता र देवीहरूको जटिल मूर्तिकला चित्रण देखाउँछन्। मन्दिरको भुईँमा रहेको मुख्य गर्भ गृहमा रामलल्लाको मूर्ति राखिएको छ।सरयु नदीबाट शुरु भएको ‘प्राण प्रतिष्ठा’को अभिषेक विधि सोमबार दिउँसो ‘अभिजित मुहूर्त’मा सम्पन्न हुने ट्रष्टले जनाएको छ ।
लाखौँ मानिसहरूले यो कार्यक्रम टिभी र अनलाइन प्लेटफर्महरूमा प्रत्यक्ष हेर्ने अपेक्षा गरिएको छ। भारतको केन्द्र सरकारले आज २२ जनवरीका दिन देशभर आधा दिन बिदाको घोषणा गरेको छ र धेरै राज्यहरूले त्यसलाई समर्थन गरेका छन्। यस अवसरमा भारतका सबै राज्यस्थित मन्दिरहरूले विशेष चाडपर्वको घोषणा गरेका छन् ।
वाशिंगटन डिसी र पेरिसदेखि सिड्नीसम्म, विश्व हिन्दु परिषद् वा हिन्दु डायस्पोरा समूहहरूद्वारा विश्वका विभिन्न भागहरूमा कार्यक्रमहरूको आयोजना गरिएको जनाइएको छ।रामलल्लाको ५१ इन्चको नयाँ मूर्तिको ‘प्राण प्रतिष्ठा’मा भारतका विभिन्न भागबाट १४ जोडी ‘यजमान’ हुनेछन्। उक्त मूर्ति मैसुरुका अरुण योगीराजले बनाएका हुन्। मूर्तिलाई गत बिहीबार मन्दिरको गर्भ गृहमा राखिएको छ। मन्दिरलाई फूल र विशेष बत्तीहरूले सजाइएको छ भने सम्पूर्ण सहर धार्मिक उत्साहमा झुमेको छ।
फ्लाईओभरहरूमा सडक बत्तीहरू भगवान राम चित्रण गर्ने कलाकृतिका साथै धनुष र बाणका कटआउटहरूले सजाइएको छ भने ल्याम्पपोस्टहरूले परम्परागत ‘रामानन्दी तिलक’ मा आधारित डिजाइनहरू बोकेका छन्।
अभिषेक समारोहको लागि अयोध्यामा सबै सुरक्षा अंगको समन्वयमा उच्चतहको सुरक्षा प्रबन्ध गरिएको जनाइएको छ। १० हजार सिसिटिभी क्यामेरा र आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले ड्रोनहरू पनि कार्यक्रम स्थलमा तैनाथ गरिएको भने सादा फोसाका सुरक्षाकर्मी सहित प्रहरी परिचालन गरिएको छ ।
कार्यक्रममा ७ हजार अतिथि आमन्त्रण गरिएको छ। बलिउड सुपरस्टार अमिताभ बच्चन, उद्योगी मुकेश अम्बानी र गौतम अडानी र खेलकुद आइकन सचिन तेन्दुलकरलाई कार्यक्रममा निमन्त्रणा गरिएको छ।
‘प्राण प्रतिष्ठा’ मा भाग लिनेहरूमा राम जन्मभूमि आन्दोलनसँग सम्बन्धित व्यक्तिहरू पनि छन्। कार्यक्रममा आमन्त्रित लगभग सबै विपक्षी नेताहरूले उपस्थित हुन अस्वीकार गरेका छन्, कांग्रेसले यसलाई ‘भाजपा–आरएसएसको कार्यक्रम’ भनेर टिप्पणी गरेको छ।
राम जन्मभूमि–बाबरी मस्जिद शीर्षक मुद्दामा सन् २०१९ मा भारतको सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले राम जन्मभूमि र बाबरी मस्जिद विवादको अन्त्य भएपछि मन्दिरको जिर्णोध्दार र निर्माणको पहिलो चरण सकिएपछि अभिषेक समारोह आयोजना गरिएको हो। बाबरी मस्जिद भगवान रामको जन्मस्थल रहेको मन्दिरको ठाउँमा निर्माण गरिएको हिन्दु समुदायले दाबी गर्दै आएका थिए। सन् १९९२ मा १६औँ शताब्दीको मस्जिद ‘कार सेवक’ले भत्काइदिएका थिए।
मोदीले भने, ‘ऐतिहासिक क्षण’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्याको राम मन्दिरमा अभिषेक समारोहको ‘ऐतिहासिक क्षण’ले भारतीय सम्पदा र संस्कृतिलाई समृद्ध बनाउने र देशको विकास यात्रालाई नयाँ उचाइमा पुर्याउने बताएका छन्।
विदेश मन्त्री एस जयशंकरले भारत आज आफ्नो परम्परा, यसको संस्कृति र यसको इतिहासमा गर्व गर्दछ किनकि धेरै थोरै सभ्यताहरू छन् जो आधुनिक राष्ट्रको रूपमा बाँचेका छन्। ‘हामी ती मध्ये एक हौँ’ भनेर उनले जोड दिएका छन्।
युगान्डामा असंलग्न आन्दोलन (नाम) शिखर सम्मेलनमा भाग लिएर नाइजेरिया पुगेका जयशंकरले त्यहाँ भारतीय समुदायका सदस्यहरूलाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।