नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल हुनु नहुने बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा उनले न्याम्सअन्तर्गत नै वीर अस्पताल हुने हो भने नेपाल सरकारको केन्द्रीय अस्पताल कुन हो भन्दै प्रश्न गरे ।
उनले यो विधेयक असाध्यै स्पष्ट ढंगले ल्याएको र विधेयकमा राखेको प्रावधान र व्यवस्था यो स्वास्थ्य क्षेत्रलाई सरकारले केन्द्रीय अस्पतालका रूपमा वीर अस्पताललाई अघि बढाउनुपर्छ भन्ने भावनासाथ ल्याएको देखिने बताए । उनले प्रतिष्ठानअन्तर्गत रहने हो भने सरकारले भनेको कुराहरू अस्पतालहरूले नमान्ने स्थिति आउने विगतको अनुभवबाट जानकारी पाएको बताए ।
न्याम्स प्रतिष्ठान मात्रै भएकाले आफ्नो युनिभर्सिटी बनाउन नसके सो समयसम्म वीर अस्पतालसँग सम्झौता गरेर चलाउन सकिने बताए । समितिको बैठकमा नेपाली कांग्रेसका सांसद जीवन परियारले लामो समयसम्म पनि चिकित्सा शिक्षा विज्ञान प्रतिष्ठानले किन एमबीबीएसको पढाइ सुरु गर्न सकिरहेको छैन भन्दै प्रश्न गरे ।
उनले प्रतिष्ठानले आफैं स्वायत्त ढंगले काम गर्न नसक्दा प्रगति हुन नसकेको हो भन्ने प्रश्न गरे । सांसद परियारले वीर अस्पताल केन्द्रीय अस्पताल नै रहनुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।