एजेन्सी— बेलायती प्रधानमन्त्री थेरेसा मेको ब्रेक्जिट योजना तेस्रो पटक अस्वीकृत भएको छ । शुक्रबार बेलायती सांसदमा भएको मतदानमा मेको ब्रेक्जिट योजनाको पक्षमा २८६ मत पर्यो भने विपक्षमा ३४४ । यसअघि यो योजना पारित गरिदिए आफूले राजीनामा दिने मेले बताएकी थिइन् ।
यसअघि उनको योजनालाई अस्वीकार गरेका केही संसद्ले यसपटक उनलाई समर्थन गरेका थिए । तर, लेबर पार्टीले यस पटक पनि मेको यो योजनालाई समर्थन गरेन । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले मेले बेलायतलाई ‘आधा पाकेको’ ब्रेक्जिट दिन लागेको आरोप लगाएका छन् ।
अब बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिट प्रक्रिया केही समय लम्ब्याउन युरोपेली युनियनसँग अनुरोध गर्न सक्ने सम्भावना बढेको छ । यसका लागि उनले १२ अप्रिल अगाडि नै युरोपेली नेताहरुसँग कुरा गरिसक्नु पर्ने हुन्छ । यसअघि आठ अन्य विकल्प पनि अस्वीकृत भएकाले अब कुनै सम्झौताविना युरोपेली युनियनबाट बेलायत बाहिरिन सक्ने सम्भावना पनि बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।