logo-img

मेलम्चीको पानी नियमित आपूर्तिका लागि दबाब कार्यक्रम गर्दै रास्वपा
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेलम्ची खानेपानी आयोजनाबाट राजधानीमा नियमित पानी आपूर्तिको माग गर्दै दबाबमूलक कार्यक्रम गर्ने भएको छ । रास्वपा संसदीय दलको आजको बैठकले यही २१ माघमा मेलम्ची बजारदेखि दबाबमूलक कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो ।   

रास्वपा सचेतक निशा डाँगीले दबाबमूलक कार्यक्रमअनुसार मेलम्ची बजारबाट आयोजनास्थल पुगी घैलामा पानी बोकेर ल्याउने निर्णय भएको बताइन् । ‘दबाब कार्यक्रम अनुसार मेलम्ची बजारमा २१ जना सांसद सबै भेला भएर खाली घैलो लिएर आयोजनास्थल जाने र पानी भरेर फर्किने कार्यक्रम तय भएको छ’, सचेतक डाँगीले भनिन् ।

रास्वपाले हालै पूर्वाधारका अलपत्र रहेका आयोजनाको दबाब यात्रा गर्ने निर्णय गरेको छ । जसअनुसार पार्टीले यही माघ २१ गतेदेखि चैत २१ गतेसम्म दुई महिने दबाबमूलक कार्यक्रम गर्दैछ ।  

सो पार्टीका सांसद बिनिता कठायतले सदन र संसदीय समितिको बैठक प्रभावित नहुने गरी पार्टीले सो कार्यक्रम गर्ने बताइन् । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकमा गैरसरकारी विधेयकको तयारीबारे समेत छलफल भएको थियो । सचेतक डाँगीका अनुसार पूर्वनिधारित मुद्दाअनुसार आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दा, अधिवेशनको तयारी र पार्टीका सांसदलाई विधेयकसम्बन्धी गरेको तयारीका विषयमा पनि आजको बैठकमा छलफल भएको थियो ।

‘गैरसरकारी विधेयक दर्ता गर्नु मात्र ठूलो कुरा होइन, त्यसलाई पास हुने गरी काम गर्ने विषयमा छलफल भयो । मुख्य त पाँच गैरसरकारी विधेयकको तयारी गरिरहेका छौँ, त्यसबारे छिट्टै सार्वजनिक गर्नेछौँ,’ डाँगीले भनिन् । रासस





  • प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया