मध्यपश्चिम विश्वविद्यालयमा ‘लोकवार्ता विज्ञान’ अध्ययन हुने

सुर्खेत– नेपालमै पहिलो पटक मध्यपश्चिम विश्वविद्यालय कर्णाली प्रदेश सुर्खेतमा ‘लोकवार्ता विज्ञान’ विषयको अध्ययन अध्यापन थालिने भएको छ । 

उक्त विषयको पढाइ प्रारम्भ गर्न मानविकी तथा समाजिकशास्त्र सङ्काय, मध्यपश्चिम विश्वविद्यालय सुुर्खेतले दुईदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गर्यो ।  

शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले मध्यपश्चिम विश्वविद्यालयले नेपालमै पहिलो पटक नौलो विषय ‘लोकवार्ता विज्ञान’ को पढाइ शुरु गर्नुले नयाँ आयाम थपिएको बताए । 

प्राचीन रेशम मार्ग, सिञ्जा सभ्यता र कर्णालीको मौलिक संस्कृतिको अध्ययन अनुसन्धान आवश्यक रहेको बताउँदै उनले भने, ‘लोकवार्ता विज्ञान यसको द्योतक बन्ने छ ।’ 

प्रा.डा चुडामणि बन्धुले आफ्नो परम्परा, मौलिक संस्कृतिको पहिचान गर्ने उपयुक्त विषयको ऐतिहासिक थालनी भएको धारणा व्यक्त गरे । ‘लोकवार्तामा परम्परागत शिल्पकला, प्रकृति र विश्वसम्बन्धी ज्ञान छ,’ प्रा डा बन्धुले भने, ‘यसले सांस्कृतिक तथा धार्मिक पर्यटनलाई पनि प्रवद्र्धन गर्छ ।’  

प्रा डा जीवेन्द्रदेव गिरीले ‘लोकवार्ता विज्ञान’ भाषा, लोकगीत, देउडा, लोक साहित्य, लोककथा र संस्कारसँग सम्बन्धित विषय रहेको बताए । कर्णाली कला, साहित्य, सभ्यता र संस्कृतिको सम्पन्न प्रदेश भएको उनको भनाइ थियो ।  



विज्ञ भीमनारायण रेग्मीले शिक्षाको स्थानीय पाठ्यक्रममा पनि यसको योगदान रहने बताए । ‘लोकवार्ताले परम्परालाई व्यवसायिकतामा लैजान जोड दिन्छ,’ विज्ञ रेग्मीले भने, ‘यसले संस्कृति र परम्पराको अध्ययन, संरक्षण र विश्लेषण गर्दछ ।

विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्रका डिन प्रा खोपिराम लम्सालले कर्णाली ‘लोकवार्ता विज्ञान’को अधिकतम् साधनस्रोत भएको क्षेत्र रहेको बताए । 



राष्ट्रियताको बोध गराउने यो विषयलाई मध्यपश्चिम विश्वविद्यालयले पहिलो पटक अभ्यासमा ल्याउन थालेको उनको भनाइ थियो । अभिमुखीकरण कार्यक्रमका सहभागीले यो विषयको अध्ययन अनुसन्धानबाट यहाँको सभ्यता, संस्कृति र संस्कारको उचित संरक्षण तथा प्रवद्र्धनमा सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए । 

  • प्रकाशित मिति : चैत १६, २०७५ शनिबार ११:२३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया