लगानी सम्मेलन : विकसित मुलुकका सफलताका अनुभव

काठमाडौं– नेपाल लगानी सम्मेलन २०१९ मा सहभागी विभिन्न मुलुकका सम्बन्धित निकायका प्रतिनिधिले नेपालले नयाँ संविधान र राजनीतिक स्थिरतासँगै लगानी र विकासका लागि उपयुक्त अवसर भएको जनाएका छन् । 

आफ्नो मुलुकको विकासको अनुभव प्रस्तुत गर्दै उनीहरुले नेपालले सम्मेलन गरेर वैदेशिक लगानीका लागि उचित ढोका खोलेको उल्लेख गरेका छन् । दुई दिने सम्मेलनको आज समापन हुँदै छ । 

आजको अनुभव आदानप्रदान सत्रमा नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत साडिक जाफेरले आफ्नो मुलुकले खुल्ला अर्थतन्त्रमा विश्वास गर्ने र नेपालको छिमेकी भारतसँग व्यापारिक सम्बन्ध विकसित भइसकेकाले नेपालमा लगानी ल्याउन कठिनाई नहुने बताए । 

युएईका अर्थ मन्त्रालयका वैदेशिक व्यापार उपसचिव अब्दुल्लाह अल सालेहले वैदेशिक लगानी आकर्षित गर्न लगानी संरक्षण सम्झौता र दोहोरो कर उन्मुक्ति सम्भौताको आवश्यकता औँल्याए । लगानीकर्तालाई कुनै प्रकारको कानुनी व्यवधान आउन नदिन सतर्क हुनुपर्ने भन्दै उनले त्यसका लागि नेपाल सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिए । 

अन्य मुलुकको तुलनामा नेपालमा लगानी गर्ने लगानीकर्ताले उच्च प्रतिफल हासिल गर्न सक्ने अवस्था रहेको बताउँदै उनले भने, ‘वैदेशिक लगानी भनेको रकम मात्र होइन, प्रविधि र ज्ञानको दक्षता पनि हो ।’ 

राजनीतिक स्थिरतासँगै अगाडि बढेको मुलुकमा लगानीको प्रचुर सम्भावना रहेको औँल्याउँदै उनले नेपालका दुई छिमेकी मुलुक यहाँका उद्योगीका लागि ठूलो बजार भएको बताए । युएईको पहिलो व्यापार साझेदार मुलुक चीन हो र दोस्रो भारत हो । युएई नेपालका लागि तेस्रो ठूलो व्यापार साझेदार मुलुक भएको तथ्य पेस गर्दै उनले दुई मुलुकबीच ३० करोड अमेरिकी डलर बराबरको व्यापार भएको उल्लेख गरे । 



मलेसियाका लगानी विकाससम्बन्धी प्राधिकरणका प्रमुख कार्यकारी शिव सूर्यमूर्ति सुन्दर राजाले आफूहरुले सुरुमा लगानी भित्र्याउन विश्वका मुख्य मुलुकमा आफ्नो लगानी बोर्डको कार्यालय खोलेको र सम्पर्क विस्तार गरेको अनुभव सुनाए । उनले लगानी बोर्डलाई अध्यागमनको निकायसँग तालमेल गर्दै लगानीकर्ताका लागि प्रमाणपत्र वितरण र लगानीका लागि सहजीकरण गर्न बोर्ड प्राधिकार हुनुपर्ने सुझाब दिए । 

नेपालको ज्योति समूहका अध्यक्ष पद्म ज्योतिले विकसित मुलुकका लगानी र विकासका सफलताका अनुभवले आफूहरुलाई समेत ऊर्जा मिलेको र नेपाल विकास तथा समृद्धिको मार्गमा अघि बढ्न सक्ने सम्भावना देखिएको बताए ।



  • प्रकाशित मिति : चैत १६, २०७५ शनिबार १६:३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया