एजेन्सी— इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटनाग्रस्त हुनुको कारण सेन्सरको गडबढी भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्सको अध्ययनपछि यो निष्कर्ष छानबिन समितिले निकालेको हो ।
१० मार्चमा इथियोपियाबाट नैरोबी जाँदै गरेको विमान उडान भरेको केही समयमा क्र्यास हुँदा १५७ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा नेपाली एकता अधिकारी पनि थिइन् ।
न्युयोर्क टाइम्समा शुक्रबार प्रकाशित एक रिपोर्टका अनुसार विमानमा स्वचालित एमसिएएस सिस्टम सक्रिय भएको थियो । यो सिस्टम सक्रिय भएपछि विमान तल खसेको र दुर्घटनाग्रस्त भएको रिपोर्टमा उल्लेख गरिएको छ ।
तर, बोइङले ब्ल्याक बक्सबाट मिलेको यो सूचनाबारे कुनै प्रतिक्रिया जनाएको छैन । उसले आधिकारिक रिपोर्ट आएपछि मात्रै यस विषयमा प्रतिक्रिया दिने जनाएको छ । तर, कम्पनीले शुक्रबार ७३७ म्याक्स–८ विमानको सिस्टमको सफ्टवेयरमा सुधार गरिएको जनाएको छ ।
यसअघि गत वर्ष अक्टोबरमा भएको बोइङको दुर्घटनामा पनि सेन्सरको गडबढी कारक भएको बताइएको छ । त्यतिबेला इन्डोनेसियाको लायन एयरको विमान दुर्घटनाग्रस्त भएको थियो । विमानमा सवार १८९ जनाको मृत्यु भएको थियो ।
१० मार्चको दुर्घटनापछि चाहिँ विश्वभरका ५७ देशले बोइङ ७३७ म्याक्स—८ विमानमाथि प्रतिबन्ध लगाएका छन् । त्यसो त बोइङ स्वयंले तत्कालका लागि यी विमानको अर्डरलाई रोकेको छ । एक रिपोर्टका अनुसार यो वर्ष बोइङ कम्पनीलाई ५५ हजार करोड रुपैयाँभन्दा धेरै नोक्सान भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।