कुष्ठरोग उन्मूलनमा चुनौती : बालबालिकामा पनि देखिँदै संक्रमण, कुन प्रदेशमा कति कुष्ठरोगी ?
‘परीक्षणको दायरा बढाएका छौँ’
फाइल तस्बिर

नेपाल सरकारले  सन् २०१० मै देशबाट कुष्ठरोग निवारण भइसकेको घोषणा गरेको थियो । यद्यपि घोषणा गरेको १२ वर्ष बितिसक्दा पनि १४ जिल्लामा अझै कुष्ठरोगका विरामी भेटिरहेका छन् । यसले के पुष्टि गर्छ भने नेपालमा कुष्ठरोग अझै पनि जनस्वास्थ्यको चुनौतीको बनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका अनुसार अझै पनि देशको १४ वटा जिल्लामा लगातार हरेक वर्ष कुष्ठरोगका विरामी थपिँदै गइरहेका छन् । 

झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, बाँके र कैलालीमा कुष्ठरोगका विरामी रहेका छन् । यी जिल्लामा प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा बढीमा कुष्ठरोग रोग देखिएको सरकारी तथ्यांकले देखाउँछ ।

देशभरका जम्मा सातवटा जिल्ला (नुवाकोट, खोटाङ, रुकुम पश्चिम, मनाङ, दोलखा, इलाम र ताप्लेजुङ) मात्रै कुष्ठरोगका शून्य विरामी छन् । यसैगरी काठमाडौं, ललितपुरसहितका ५६ वटा जिल्ला कुष्ठरोगको जोखिममा ‘एलो एरिया’मा रहेका छन् । 

महाशाखाको विवरणअनुसार ०७८/७९ मा २२ सय ८५ विरामी भेटिएका थिए ।  यसैगरी आव ०७९/८० मा २ हजार ५२२ जना कुष्ठरोगका विरामी भेटिएका छन् । यसरी हेर्दा नेपालमा कुष्ठरोगका विरामी घट्दै जानुको साटो बढ्दै गएको देखिन्छ ।

मधेश र लुम्बिनीमा धेरै 



महाशाखाको विवरणअनुसार मधेश प्रदेश र लुम्बिनी प्रदेश कुष्ठरोगका विरामी सबैभन्दा धेरै छन् । देशभर रहेका कुल संक्रमितमध्ये मधेश प्रदेशमा ९४४ जना, लुम्बिनीमा ५६५ कुष्ठरोगका विरामी छन् । यस्तै, अन्य कोशीमा ४७१, बागमतीमा १२०, गण्डकीमा ११९, कर्णालीमा ७३/सुदूरपश्चिम २३० कुष्ठरोगका विरामी रहेका छन् ।

सरकारले  सन् २०१० मै देशबाट कुष्ठरोग निवारण भइसकेको घोषणा गरिसकेको भए पनि सन् २०३० सम्म नेपालबाट कुष्ठरोग उन्मूलन घोषणा गरी रहेको छ । तर, पछिल्ला वर्षहरूमा नेपालमा विरामी घट्नुभन्दा बढ्दै गएका छन् । जसले गर्दा सन् २०३० सम्म कुष्ठरोग उन्मूलन घोषणा गर्ने सरकारी लक्ष्य नै असफल हुने हो की भन्ने शंका उब्जिन थालेको छ । 

महाशाखाका कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा प्रमुख डा. प्रशन्न नापित संकास्पद विरामीमा परीक्षणको दर बढ्दै जादा नयाँ संक्रमित थपिदै गएको जनाउँछन् ।  ‘प्रति  १० हजार जनसंख्यामा  एकजनाभन्दा बढीमा कुष्ठरोगका विरामी भेटिए सरकारले त्यस जिल्लालाई हाल प्रभावित जिल्ला भनेर सोही अनुरूप सम्भावित विरामी खोज्नको लागि परीक्षणको दायरा बढाउँछ । यसअघि धेरै जिल्लामा १० हजार जनसंख्यामा एकजना पनि विरामी नभेटिएपछि निवारणको घोषणा गरेको हो ।’ 

सन् २०३० सम्ममा प्रति १ लाख विरामीको परीक्षणमा शून्य संक्रमित बनाएर उन्मूलन घोषणा गर्ने लक्ष्य रहेको अवस्थामा बालबालिकामा पनि संक्रमण देखिन थालेकाले चुनौती थपिँदै गएको हुँदा परीक्षणको दायरा बढाउने लक्ष्य रहेको डा. नापितले जानकारी दिए । 

‘केही जिल्लामा कुष्ठरोगको फैलावट अझै पनि छ, बालबालिकाहरू पनि संक्रमित भएको विवरण आएको छ । जसले गर्दा संक्रमणको फैलावट छ भन्ने बुझिन्छ त्यसैले हामीले संकास्पद स्थानमा परीक्षणको दायरा बढाएका छौँ र सन् २०३० सम्म नेपालबाट कुष्ठरोग उन्मूलन नै गर्ने लक्ष्य लिएका छौँ,’ डा. नापितले भने ।

सरकारले भनेकै समयमा कुष्ठरोग उन्मूलन गर्न भन्दै गत दुई वर्षअघि नै राष्ट्रिय कुष्ठरोग रणनीति (२०७८/२०८२) सार्वजनिक गरिसकेको छ ।

समयमै उपचार गरे पूर्ण निको हुने यो रोगलाई समयमा नै पहिचान गरेर उपचार गरिएन भने अपाङ्गता हुन्छ । परीक्षण गरेर चिकित्सकको निगरानीमा ६ महिनादेखी १२ महिनासम्म नियमित औषधि सेवन गरे यो रोग पूर्ण निको हुन्छ । हरेक वर्ष विश्वमा २ लाख कुष्ठरोगका विरामी भेटिने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

के हो कुष्ठरोग ? 

कुष्ठरोग आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्र नामक सूक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो । पहिलोपटक सन् १८७३ मा नर्वेका वैज्ञानिक डा. जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका थिए । त्यसैले यसलाई ह्यानसेन्स रोग पनि पनि भनिन्छ ।

नेपाली समाजमा कुष्ठरोगको बारेमा अझै पनि अन्धविश्वास व्याप्त छ । समुदायमा व्यापक जनचेतना जगाएर कुष्ठरोगीलाई सामान्य व्यक्ति सरह व्यवहार गर्ने, भेदभाव नगर्ने परिवारमा आवश्यक मायाममता र सहयोगको वातावरण हुनु आवश्यक रहेको डा. नापितको भनाइ छ । 

  • प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार १९:३५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया