साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

राष्ट्रिय मुक्तक पुरस्कार–२०८० बाट साहित्यकार उषा शेरचन पुरस्कृत भएकी छन् । मुक्तक मञ्चले शनिबार पोखरामा शेरचनलाई ३३ हजार ३३३ रुपैयाँ तथा ताम्रपत्रसहितको पुरस्कार प्रदान गरिएको हो ।  

उनलाई वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले उक्त पुरस्कार प्रदान गरे । बरालले उषा बहुमुखी प्रतिभा भएको भन्दै साहित्यमा उनको लगाव प्रशंसनीय रहेको बताए । 

आफू पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष हुँदा उषा उपाध्यक्ष भएर देखाएको सक्रियताप्रति सधैं गौरव लाग्ने गरेको स्मरण गर्दै वरिष्ठ कार्टुनिस्टका रूपमा समेत परिचित बरालले मुक्तक मञ्चले योग्य मात्रै होइन, सुयोग्य पात्रलाई पुरस्कार प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे ।

प्रतिभा छनोट समितिका संयोजक साहित्यकार सरुभक्तले शेरचनको नितरन्तको साधनाको सम्मानस्वरूप पुरस्कार प्रदान गरिएको बताए । प्रतिभा छनोट समितिका सदस्य तथा मञ्चका सल्लाहकार रुपिन्द्र प्रभावीले प्रतिभा छनोट प्रक्रियाबारे जानकारी दिँदै आख्यानकार, मुक्तककार र गीतकारका रूपमा शेरचनलाई चिनाए । 

शेरचनको ‘अक्षरहरूका शिविरबाट’ मुक्तक सङ्ग्रह (२०५६) प्रकाशित छ भने ‘त्रासदीका हिमनदीहरू’ मुक्तक सङ्ग्रह प्रकाशनको तयारीमा छ । उनका नजन्मेका आस्थाहरू (२०४८) र सर्वकालीन पीडा र जागृतिका शङ्खघोष (२०६३) गरी २ कविता सङ्ग्रह, तेस्रो रङ (कथा सङ्ग्रह, २०७०) र आधि (उपन्यास, २०७६) प्रकाशित छन् । 

वि.सं २०१२ मा पोखरामा जन्मेकी उनी हाल काठमाडौं बसेर साहित्यिक गतिविधिमा संलग्न हुँदै आएकी छन् ।  



  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार ९:३८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया