logo-img

सबै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यम

अधिकांश अभिभावक आफ्ना बालबालिकाहरूलाई अङ्ग्रेजी माध्यमबाट पढाउनकै लागि निजी विद्यालय रोज्छन् । सहरी क्षेत्रका अभिभावकलाई त सहज नै छ, घरबाट नजिकै प्रशस्तै निजी विद्यालयहरू पाइन्छन् । ग्रामीण क्षेत्रमा नजिकै निजी विद्यालय नहुने भएका कारण बालबालिका पढाउन सहर नै पस्नुपर्ने अवस्था भए पनि इलामको चुलाचुली गाउँपालिकामा त्यस्तो बाध्यता छैन ।

गाउँपालिकाका सबै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाउन थालेपछि त्यस्तो बाध्यता हटेको हो । चुलाचुली गाउँपालिकाले सबै सरकारी विद्यालयमा आधारभूत तह कक्षा–५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ । सरकारी विद्यालयमै अङ्ग्रेजी माध्यममा पढाई हुन थालेपछि बालबालिकालाई अङ्ग्रेजी माध्यम पढाउनकै लागि सहर पसेका अभिभावकहरू समेत गाउँ फर्कन थालेका छन् । सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण समेत बढ्न थालेको छ । 

सरकारी विद्यालयमा नेपाली माध्यमबाट पढाइ हुने र अभिभावकको चाहना अङ्ग्रेजी माध्यम बन्दै गएकाले सरकारी विद्यालयमा समेत अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । ‘अङ्ग्रेजी  माध्यमबाट पढाउन अब अभिभावकहरूले निजी विद्यालयको भर पर्नु पर्दैन’, अध्यक्ष केरुङले भने, ‘स्थानीय सरकारले अभिभावकको अङ्ग्रेजी माध्यमको चाहनालाई मध्यनजर गर्दै सरकारी विद्यालयमा पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको हो ।’

गाउँपालिकाले प्रत्येक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउन अनुदान कोटामा शिक्षक दिएको छ । अङ्ग्रेजी माध्यमका लागि गाउँपालिकाले २५ जना निजी शिक्षक नियुक्त गरी अनुदान दिँदै आएको छ । सबै विद्यालयमा पूर्वप्राथमिक तहमा निजी विद्यालयमा जस्तै नर्सरी, एलकेजी र युकेजी कक्षासमेत सञ्चालन गर्दै आएको छ । तीन तहका विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क पाठ्युस्तक र पाठ्यसामग्री उपलब्ध गराउँदै आएको छ । 

शिक्षा क्षेत्रमा देखिएका कमी कमजोरीलाई क्रमिक रूपमा सुधार गर्दै लैजाने योजनाअनुसार पहिलो काम अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको शिक्षा शाखा प्रमुख राम मिश्रले बताउनुभयो । ‘सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सबै विद्यायमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको हो । यसका लागि गाउँपालिकाले शिक्षक अनुदान दिएको छ’, उनले भने, ‘अहिले निजी विद्यालय छाडेर सरकारी विद्यालयमा विद्यार्थी आउन थालेका तथ्याङ्क प्राप्त भएको छ ।’ अङ्ग्रेजी माध्यमबाट अध्यापन भएपछि निजी विद्यालय र सरकारी विद्यालयमा फरक नहुने समाजमा स्थापित हुँदै गएको समेत उनले बताए । 

आफ्ना छोराछोरीलाई गाउँकै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा पढ्न पाएपछि अभिभावकहरू समेत खुसी भएका छन् । हुन त धेरै अभिभावकहरूले आफ्ना बालबालिकाहरू देखासिकी वा फेसनका रूपमा भए पनि चर्को शुल्क तिर्न बाध्य भइरहेको परिस्थितिमा सरकारी विद्यालयमा पढाउन पाउने भएकाले आजभोलि अभिभावकहरू निकै खुसी हुनु स्वाभाविक हो । 



चुलाचुली गाउँपालिका– १ की विशु राई सरकारी विद्यालयले अङ्ग्रेजी माध्यममा पढाई सुरु गरेकाले आफूलाई निकै खुसी लागेको बताउँछन् । उनी थप्दै भन्छन्‘न्यून आय भएकाहरुलाई सरकारी स्तरबाट गरेको यो प्रयास सह्रानीय छ । यसलाई निरन्तरता दिएर जानुपर्छ ।’ त्यसैगरी अर्का अभिभावक अनिस राईले सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन हुन थालेपछि खुसी लागेको बताए । उनले घर नजिकैको सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यम लागू भएपछि आफ्नो निजी विद्यालय पढ्दै गरेको बच्चालाई समेत सरकारी विद्यालयमा ल्याएको छ ।  

धेरै अभिभावकहरूले आफ्ना बालबालिकाहरुलई गुणस्तरीय शिक्षाका लागि चर्को शुल्क तिरेर निजी विद्यालयमा पठाउन बाध्य भइरहेको परिस्थितिमा सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन पाउने भएकाले यस क्षेत्रका अभिभावकहरू खुसी भएका हुन् । सरकारी विद्यालयमा अङग्रेजी माध्यम लागू गरेपछि विद्यार्थी सङ्ख्या समेत बेढको वडा नं. १ कमलस्थित जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक विशाल लिम्बू बताउँछन् । ‘अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरेपछि झण्डै १५ प्रतिशत विद्यार्थी सङ्ख्या बढेको छ’ उनले भने, ‘कतिपय अभिभावकहरूले त आफ्ना छोराछोरी बोर्डिङबाट निकालेर समेत यहाँ ल्याएका छन् ।’



चुलाचुली गाउँपालिकामा आठ माध्यमिक, १३ आधारभूत, दुई सामुदायिक सिकाई केन्द्र र १६ वटा बालविकास केन्द्र छन् । सबै तहमा पाँच हजार विद्यार्थी अध्ययरत रहेको गाउँपालिका शिक्षा शाखाको तथ्याङ्कमा उल्लेख छ । उता निजीतर्फ एउटा माध्यमिक र पाँच वटा आधारभूत विद्यालय छन् । 

चार विद्यालयमा लिम्बू भाषा पठनपाठन 

त्यस्तै, चुलाचुली गाउँपालिकाले मातृभाषा शिक्षा समेत लागू गरेको छ । चुलाचुली गाउँपालिकाले चारवटा विद्यालयमा स्थानीय मातृभाषा लिम्बू भाषा पठनपाठन गर्दै आएको छ । चुलाचुली गाउँपालिका–१ मा जनता माध्यमिक विद्यालय, फाल्गुनन्द बहुभाषिक लफाङ पाठशाला र शिवज्योति आधारभूत विद्यालय तथा वडा नं. ४ स्थित किरात चोलुङ आधारभूत विद्यालयमा लिम्बू भाषा पठनपाठन भइरहेको शिक्षा शाखा प्रमुख मिश्रले जानकारी दिए । 

गाउँपालिकाले मातृभाषा शिक्षाका लागि समेत एक/एक जना भाषा शिक्षकका लागि अनुदान उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममा नै उल्लेख गरी भाषा शिक्षकका लागि सेवा सुविधा उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष केरुङले बताए ।  

  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया