प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली संगीत विकृतितर्फ उन्मुख हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले नेपाली लोकसंगीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताए ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले लोक संस्कृतिको संरक्षणमा गम्भीर हुनुपर्ने बताए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘दर्शक–श्रोताको मन जितेका कालजयी गीतहरू नेपालीको मनमुटु र जनजिब्रोमा झुण्डिएका छन् । तर, पछिल्लोसमय ‘भाइरल’ हुने र ‘भ्युज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसमेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ ।’
विविधतापूर्ण मौलिकतामा आधारित गीतसंगीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै उनले यसतर्फ कलाकर्मीहरू र सम्पूर्ण जनसमुदाय सचेत हुनैपर्ने बताए ।
सार्वजनिक मेला महोत्सवहरूका कतिपय प्रस्तुतिहरू अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेको उनको गुनासो थियो । भाइरल र लोकप्रियको अर्थ स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, ‘भाइरल’को अर्थ संक्रामक प्रसार हो, जुन राम्रो कुरा होइन ।’ यस्ता गतिविधि निरूत्साहित गर्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरे।
प्रधानमन्त्रीले संस्थाहरू विवादको घेरामा तानिँदा आफ्नो प्राज्ञिकता, मौलिकता र सिर्जना मर्ने बताए।पछिल्लो अधिवेशनबाट प्रतिष्ठानले केही आन्तरिक विवाद र समस्याहरूको सामना गरिरहेको विषयसमेत आफूले जानकारी पाएको उनले बताए ।
लोकसंगीतको रक्षा र विकासमा नै केन्द्रित भएर अगाडि बढ्न आग्रह गर्दै प्रधानमन्त्रीले बढीभन्दा बढी सहमतिका साथ एकताबद्ध हुन कलाकारहरूलाई आग्रह गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।