नेपाली कांग्रेस पार्टीको महासमितिको बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ । २४ मंसिर २०७८ मा काठमाडौंमा सम्पन्न भएको १४ औँ राष्ट्रिय महाधिवेशनको दुई वर्ष तीन महिनापछि ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकमा भाग लिनका लागि देशभरबाट महासमिति सदस्य संघीय संघीय राजधानी आइपुगेका छन् ।
प्रतिनिधिसभामा अन्य दलको भन्दा बढी सांसद र मन्त्री रहेको, आधाभन्दा बढी प्रदेशमा सरकार प्रमुख भएको र लगभग आधा स्थानीय सरकारमा प्रभुत्व जमाएको कांग्रेसको महासमिति बैठकलाई बढो चासोका साथ हेरिएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा आज दिउँसो १ बजे पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता ! स्वतन्त्रता, न्याय र समानता !! नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको महासमिति बैठकमा देशभरबाट दुई हजारभन्दा बढी महासमिति सदस्यको सहभागिता हुँदैछ ।
महासमिति बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य १ सय १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्य १ हजार ७ सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जनाको सहभागिता हुँदैछ ।
यस्तै, केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराउन लागिएको छ ।
‘कांग्रेस पार्टीलाई अगाडि बढाउन स्पष्ट नीति र कार्यक्रम आवश्यक छ’
बैठकमा भाग लिन झापाबाट शुक्रबार काठमाडौं आएका महासमिति सदस्य अनिलकृष्ण प्रसाँई समयअनुसार पार्टीलाई अगाडि बढाउन स्पष्ट नीति र कार्यक्रम आवश्यक रहेको बताउँछन् । ‘वीपी कोइरालाले प्रतिपादन गरेको समाजवादको सिद्धान्त सङ्कटमा पर्दै गएको छ, यो महासमिति बैठकले वैचारिक सङ्कटप्रति चिन्तन गर्नुपर्छ’, उनले भने । कांग्रेस आफ्नो एजेन्डामा प्रष्ट हुनुपर्ने प्रसाईँको भनाइ छ ।
मोरङका महासमिति सदस्य एवं पूर्वसांसद भुटनीदेवी खवास महासमिति बैठकमा कांग्रेसले पार्टी र देशका लागि हित पुग्ने निर्णय गर्नुपर्ने बताउँछिन् । ‘देशको पुरानो पार्टी कांग्रेसप्रति आम जनताको आशा र भरोसा छ, यसलाई पूरा गर्नका लागि कांग्रेस लाग्नुपर्छ’, उनले भनिन् ।
ओखलढुङ्गाका महासमिति सदस्य एवं पर्यटन व्यवसायी लिलाबल्लभ दाहाल ‘काका’ देशको अर्थतन्त्रलाई सबल र सक्षम बनाउने खालको अर्थनीति कांग्रेस महासमिति बैठकले लिनुपर्ने बताउँछन् । ‘जनताले सरकारलाई तिरेको करलाई ‘प्रोभिडेन्ड फन्ड’मार्फत स्वास्थ्य वीमामा परिणत गर्नेखालको नीति कांग्रेसले लिनुपर्छ’, उनले भने । दाहाल करको दर बढाउनुभन्दा पनि करको दरलाई घटाएर दायरा बढाउनका लागि कांग्रेसले भूमिका खेल्नुपर्ने बताउँछन् । उनले देशभित्र डलर भित्र्याउन सकिने व्यवसायलाई कर नतिर्ने नीति कांग्रेसले लिएमात्र मुलुक समृद्ध बन्ने उल्लेख गरे ।
काठमाडौंका महासमिति सदस्य लोकेश ढकाल वीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई कांग्रेसले छाड्दै गएको बताउँछन् । ‘वीपी कोइरालाको चिन्तनप्रति पार्टी विचलित हुँदै गएको छ, यसबारे महासमिति बैठकमा गम्भीर छलफल हुनुपर्छ’, ढकालले भने ।
नवलपरासीको त्रिवेणीमा सम्पन्न पार्टीको महासमिति बैठकमा उठेको वैदिक सनातन धर्म सापेक्ष हिन्दू राज्यको पक्षमा उठेको जनआवाजलाई पार्टीको यो महासमितिको बैठकले सम्बोधन गर्नुपर्ने उनी बताउँछन् ।
पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं महासमिति सदस्य कविता सरदार पार्टीभित्र देखिएको गुटबन्दी अन्त्यका लागि यो बैठकमा आवश्यक छलफल चलाउनुपर्ने बताउँछिन् । सबैलाई समेटेर कांग्रेस अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
कालीकोटका महासमिति सदस्य भूपेन्द्रजङ्ग शाही महासमिति बैठकलाई उपलब्धिमूलक बनाउने खालको निर्णय बैठकले गनुपर्ने बताउँछन् । ‘महासमिति बैठकले गुट, उपगुटको अन्त्य गर्दै पार्टीभित्र सबैको मूल्याङ्कन हुनुपर्ने वातावरण बनाउनुपर्छ’, उनले भने ।
शाही आउने निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने अवस्था सिर्जना गर्ने गरी महासमिति बैठकमा छलफल चलाउनुपर्ने बताउँछन् । उनी भ्रष्टाचारको अन्त्य, पार्टीभित्र सबैलाई न्यायोचित अवसर, स्थिर सरकारका लागि निर्वाचन प्रणालीको परिवर्तनलाई पार्टीले महासमितिमा मुख्य एजेन्डाको रूपमा उठाउनुपर्ने बताउँछन् ।
ललितपुरको गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन गर्नका लागि पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम अगाडि बढाएको छ ।
कांग्रेसले महासमिति बैठकमा पेस हुने विभिन्न दस्तावेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरिसकेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा गत फागुन ३ र ४ गते बसेको केन्द्रीय समितिले उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव र प्रवक्ता डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत लेखा परीक्षण प्रतिवेदन पारित गरेको थियो ।
कांग्रेसले आजदेखि सुरु हुने महासमिति बैठकमा जाने प्रतिनिधिको सहजताका लागि दैनिक २० वटा बस निःशुल्क सञ्चालन गर्न लागेको छ । पार्टीबाट गठन गरिएको यातायात व्यवस्थापन उपसमितिले काठमाडौंबाट महासमिति बैठक हुने स्थान गोदावरी जानका लागि चार दिनसम्म निःशुल्क बस व्यवस्थापन गर्न लागेको उपसमितिका सदस्य सुवन गिरि बताउँछन् ।
कांग्रेसले कार्यक्रम आवधिभर बिहानको चिया नास्ता, खाना र दिउँसोको खाजा कार्यक्रमस्थलमै उपलब्ध गराउन लागेको छ । बेलुकाको खाना र आवास सहभागी आफैंले व्यवस्था गर्नुपर्ने कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्मा बताउँछन् । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।