हिमाली जिल्लामै छैन हिउँ, कालापत्थर बन्दै हिमाल [तस्बिरहरू]

सोलुखुम्बु भन्नेबित्तिकै सबैको मनमा आउने शब्द हो, हिउँले ढाकिरहने जिल्ला । तर, केही वर्षयता भने हिमाली जिल्ला सोलुखुम्बुमा पर्याप्त हिउँ परेको छैन । जलवायु परिवर्तनको असर हिमाली जिल्लालाई पूर्णरूपमा परिसकेको छ ।

अहिले हिउँले छोपिरहने हिमाल कालापत्थरमा देखिन थालेका छन् । हिमालको काखमा रहेका वस्तीमा लामखुट्टेले आफ्नो धुन हाल्न थालिसकेको छ । विकासका नाममा बनेका सडकबाट उडेको धुलो, त्यही धुलोमाथि गुड्ने यातायातका साधनले छाड्ने धुवाँको मुस्लोले आकाशमा तुवाँलो बढाएको छ । 

सदरमुकाम नजिकै देखिने दूधकुण्ड हिमालसमेत विस्तारै रूप फेर्दैछ । विश्वको सर्वाेच्च शिखर सगरमाथाले रूप फेरेको त धेरै भइसक्यो । उहिलेका मानिस सदरमुकामबाट नजिकै देखिने दूधकुण्डको काखमा रहेको हिमाल हेरेर खेती गर्ने समयको अनुमान लगाउँथे । हिमालमा हिउँ पर्‍यो ।

यसपालि आलु, मकै, गहुँ, जौ लगाएको खेती सप्रने भयो भनेर खुसी हुन्थे । तर, अहिलेको परिवर्तनशील समयले हिमाल हेरेर खेती उत्पादनको लखकाट्ने मानिस कमै भेटिन्छन् । 

कात्तिक लागेपछि डाउन ज्याकेट जस्ता बाक्ला कपडा लगाउनु पर्ने सोलुखुम्बुमा अब बाक्लो ज्याकेट सम्झने मात्र हो । 



सामान्य हावा छेक्ने ज्याकेटले दिन कट्न थालेको छ । मंसिरको अन्तिमबाट मागको पहिलो सातासम्म लगाउने आलु हिउँ पानीको अभावमा फागुन लागे पछि रोप्न बाध्य भएका छन् । आकाश खुल्ला हुँदा पर्ने तुषारो र शीतको आशमा स्थानीय कृषकले खेती लगाउन थालेका छन् । 



जलविद्युत् गृह पनि कृषि उत्पादनमा परिरहेको असरको कारक बनेका छन् । एउटै खोलाबाट उत्पादन भएका विभिन्न कम्पनीका जलविद्युतबाट नियमानुसार खोलामा बगाइनुपर्ने १० प्रतिशत पानी नदिँदा खेतबारी सुक्खा बनेका छन् ।

खोलामा देखिने जलचर प्राणीको संख्या पनि घटेको छ । उहिले खोला नजिक जाँदा डराउने आज त्यही खोलाबाट बालुवा गिट्टीको व्यापारमा रमाइरहेका छन्  । स्थानीय  प्रशासन खोलामा पानी नै नछाड्ने जलविद्युत कम्पनी होस् या ढुंगा गिट्टी बालुवाको दोहन सक्रिय माफियामाझ चुपचाप कानमा तेल हालेर बसेका देखिन्छन् । 

खच्चड, हेलिकोप्टरले बोकेर लगेका ग्यासका सिलिण्डर पहाड बन्न थालेको छ । थाप्लोमा नाम्लो लगाएर विदेशी पर्यटकको भारी बोकी जीवनयापन गर्ने युवा पनि घटिरहेका छन् । हिमालमा रम्न आउने पर्यटक कालापत्थर देखेर निराश हुँदै फर्कँदै छन् ।  

ऊबेला बनेका हिमताल सुक्दो र पानी घट्दो क्रममा रहेको छ । कुनै बेला हिमताल फुट्ने डरले आत्तिएका स्थानीय आज त्यही नदी खोला सुकेको देखेर दिक्क मान्दै भविष्यमा बन्न सक्ने मरुभूमिको कल्पना गर्ने थालेका छन् ।

विभिन्न रासायनिक पदार्थ मिसाइएका खाद्य पदार्थले हिमाल पहाडका वस्तीलाई नछोएको भन्ने छैन । गाउँघरका विषादीरहित खाद्य पदार्थ सस्तो मूल्यमा बाहिरिन थालेको यथार्थ छर्लङ्ग हुँदाहुँदै स्थानीय निकायले कुनै रोक्ने पहल गरेको देखिन्न ।  

हरिया वन नांगा बनिसके, सेता हिमाल काला हुँदै गए । तर,नि नेताहरूले कुनै असहज महसुस गरेका छैनन् । अझै भन्ने गर्छन्, यी सबै जलवायु परिवर्तनको असर हुन् । यदि असरको बारेमा थाहा भए त न्यूनीकरणका लागि उनीहरूको दिमागमा किन बत्ती नबलेको भनेर सर्वसाधारण प्रश्न गर्न थालेका छन् । 

  • प्रकाशित मिति : फागुन ८, २०८० मंगलबार १४:४१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया