सर्वनामको ३८औँ वार्षिकोत्सव : अशेष मल्लले सुरु गरे नयाँ नाटकको रिहर्सल

काठमाडौं– कालिकास्थानस्थित सर्वनाम थिएटरले आज वार्षिकोत्सव मनाएको छ । पञ्चायत, बहुदल, लोकतन्त्र हुँदै गणतन्त्र नेपालसम्म आइपुगेको सर्वनामको रंगयात्रा आज ३८औँ वर्षमा प्रवेश गरेको छ । 

आर्थिक, सामाजिक, राजनीतिक विकृति–विसंगतिलाई प्रत्यक्ष अभिनयमा उतारेर जनचेतना फैलाउने उद्देश्यले जुटेको एक समूहले नेपालमा सडक नाटकको सुरुवात गर्यो । यही समूहले २०३८ सालमा खोलेको संस्था हो, सर्वनाम । जसका अगुवा हुन्, अशेष मल्ल । 

सर्वनामका विद्यार्थी तथा पूर्वविद्यार्थीमाझ केक काट्दै मल्लले वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरे । ‘रंगमञ्च एउटा निःस्वार्थ काम हो । यसमा निरन्तर लागिरहनुपर्छ । रंगकर्म व्यक्तिगत नभई समाज, देशका लागि गर्ने हो,’ भन्दै उनले सबैलाई शुभकामना दिए । 

शुभकामना दिने क्रममा मल्लले देशमा रंगमञ्चको विकासको आवश्यकता औँल्याए । ‘नेपालमा थिएटरको विकास केही रुपमा भए पनि कल्चरको रुपमा विकसित हुन सकेको छैन । यसलाई व्यावसायिक बनाउन पनि आवश्यक छ,’ उनले भने, ‘जबसम्म देशमा राजनीतिक स्थिरता हुँदैन, तबसम्म रंगमञ्चको विकास हुन सक्दैन र यसको विकास गर्ने एउटै उपाय हो, निष्काम काम ।’ 



वार्षिकोत्सवको अवसरमा सर्वनामले प्रत्येक वर्ष केही न केही नयाँ काम गर्ने गरेको छ । ३७औँ वार्षिकोत्सवमा सर्वनामले इन्टरनेसल सोलो थिएटर फेस्टिभल आयोजना गरेको थियो । यो वार्षिकोत्सवको अवसरमा मल्लले नयाँ नाटक लिएर आउन लागेको जानकारी दिए । 

झन्डै ९ वर्षपछि मल्ल ‘अर्को कुरुक्षेत्र’ नाटक लिएर मञ्चमा आउने भएका छन् । वार्षिकोत्सव कार्यक्रमकै अवसरमा उनले एक मुख्य पात्रलाई संवाद बोल्न लगाएर नाटकको रिहर्सल सुरु गरे ।
 



  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार १७:५४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया