गैरआवासीय नेपाली संघ(एनआरएनए)एक पक्षका अध्यक्ष राजेन्द्र कुमार (आरके)शर्माले अहिले संघ विषम परिस्थितिमा चलेको बताउँदै सरकारले केही सहयोग नगरेको गुनासो गरेका छन् ।
गैर आवासीय नेपाली संघले बिहीबार केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा अध्यक्ष शर्माले यस्तो गुनासो गरेका हुन् । १०औँ महाधिवेशन यता संघमा बढ्दै गएको विवादको प्रसङ्गलाई जोड्दै अध्यक्ष शर्माले संघलाई कसले कब्जामा लिने भन्ने व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएको बताए ।
शर्माले बद्री केसी समूहले पटक पटक संघ नै कब्जा गर्ने उद्देश्यसहित गतिविधि गर्दै आएकोप्रति असन्तुष्टि जनाए । उनले कसी समूहको उक्त निन्दनीय कार्य विरुद्ध सशक्त प्रतिवाद गर्ने समेत बताएका छन् । अहिले विदेशमा रहेका नेपाली नागरिकको लगानीबाट बनेको भवन बचाउन सबै एक ठाउँमा उभिन आवश्यक रहेको बताउँदै सबैलाई साथ सहयोग गर्न आग्रह गरे ।
भवन बचाउन हातेमालो गर्न तयार रहेको पनि अध्यक्ष शर्माले बताएका छन् । एकताको महाधिवेशन गर्न आफू पनि तयार रहेको बताउँदै अध्यक्ष शर्माले आपसी समन्वय सहकार्य र एकताका माध्यमबाट अगाडी बढ्नुपर्नेमा जोड दिए ।
सहमतिका माध्यमबाट अगाडी बढ्दै गर्दा म नै अध्यक्ष हुनुपर्छ भन्ने आफ्नो धारण नरहेको उनले प्रस्ट्याए । सम्मानित विशेष अदालतले दिएको आदेश र काठमाडौं महानगरपालिकाले जारी गरेको सूचनाप्रति असन्तुष्टि जनाउँदै लिजमा लिएर कम्तीमा पनि ५० वर्षसम्म भवन सञ्चालन गर्नुपर्ने मागमा सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न पनि अध्यक्ष शर्माले अपिल गरे ।
विवाद साम्य गरेर आपसी सहकार्य, साझा सहमति र एकताका माध्यमबाट अगाडि बढ्नुपर्ने नै वर्तमान आवश्यकता रहेको अध्यक्ष शर्माले पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनपछि शर्मा समूहले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । केसी समूहले कार्यालय बन्द गरेर एकलौटी गरेको, कोषको रकम दुरुपयोग गरेको र संस्था कब्जा गर्न खोजेको भन्दै अलग्गै ताला लगाएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।