जसले भैरहवा जेल ब्रेक गरे । बन्दी अवस्थामा रहँदा सिंहदरबार कब्जाको प्रयास गरे । काठमाडौंबाट भागेर चीन पुगे । चीनबाट फर्काएर राजा महेन्द्रले प्रधानमन्त्री बनाए । के हो कथा–डा. केआई सिंहको ?
त्यो आजै थियो, ७३ वर्षअघि को फागुन ९ को दिन । यसै दिन भएको एउटा घटनाले केआई सिंहको राजनीतिक जीवनमा अनेक मोड ल्याइदियो ।
यस दिन भारतीय फौजको सहयोगमा झण्डै साढे तीन सय सशस्त्र कार्यकर्तासहित भैरहवाको मर्चवार क्षेत्रबाट केआई सिंहलाई गिरफ्तार गरियो ।
उनी भैरहवा जेलमा थुनिए ।
उनलाई पक्राउ गर्न नेपालले किन भारतीय फौजलाई नेपाली भूमिमा आमन्त्रित गर्यो ?
भयो के भने २००७ माघ २५ मा राणा, राजासहित आन्दोलनकारी र भारतबीच दिल्ली सम्झौता भयो । सम्झौताको त्यही जगमा फागुन ७ मा नेपालमा प्रजातन्त्र घोषणा भयो ।
तर, त्यसको भोलिपल्टै सम्झौताको विरोधमा केआई सिंह सशस्त्र विद्रोहमा ओर्लिए । र उनले एक पटक होइन,पटक पटक भने–दिल्ली सम्झौता धोका हो । धोका हो । धोका हो ।
२००७ सालको क्रान्तिमा भैरहवा लगायत पश्चिम तराईबाट सक्रिय रहेका केआई सिंह आन्दोलन रोक्न राजी भएनन् । प्रजातान्त्रिक सरकारमा पनि मोहन शमशेर राणा नै प्रधानमन्त्री हुने भएपछि असन्तुष्ट थिए उनी ।
नेपाली कांग्रेसको सशस्त्र मोर्चा मुक्ति सेनाका भैरहवा कमान्डर सिंहले हतियार बुझाउन मानेनन् । राणाहरूलाई सत्ताबाट पूर्णतः बहिर्गमन नगरेसम्म क्रान्ति पुरा नहुने उनको ठहर थियो ।
उनको आशय थियो–यो त हलाल क्रान्ति पो भयो ।
सशस्त्र हमला जारी नै राखेपछि भारतीय फौजलाई नेपाल ल्याएर उनलाई २००७ फागुन ११ अर्थात् आजकै दिन पक्राउ गरियो । केआई सिंह र उनका सहयोगीमाथि अशान्ति फैलाएको, राजगद्दी ताकेको, सरकारी खजाना र निजी धनसम्पत्ति लुटेको, हत्या गरेको लगायतका सात वटा आरोप लगाइयो । भैरहवा जेलमा राखियो । तर, उनी केआई सिंह थिए । पक्राउ परेको चार महिनापछि भैरहवा जेल ब्रेक गरे । आफ्ना सहयोगीका साथ वर्ष २००८ असार २५ मा जेलबाट फरार भए । भैरहवा जेल तोडेर सहयोगीहरूकासाथ हातमा नक्सा बोकेर तिब्बत जाने भन्दै हिँडेका उनलाई तत्कालीन सरकारले ‘डाँकु’ घोषित गर्यो । केआई सिंहलाई पक्राउ गर्नेलाई ५ हजार रुपैयाँ इनाम दिने घोषणा गरियो ।
२००८ साउन २२ मा पाल्पाबाट उनी पक्राउ परे । केआई सिंहलाई गिरफ्तार गर्ने आदेश दिएका थिए,उनकै नेता तत्कालीन गृहमन्त्री बीपी कोइरालाले । पक्राउ परेपछि उनलाई काठमाडौं ल्याइयो । सिंहदरबारको माथिल्लो तलामा गृहमन्त्री बिपीको कार्यालय थियो । त्यसैको तल छिँडीमा केआई सिंहलाई थुनियो । भैरहवा जेल ब्रेक गरेर आएका केआई सिंहले रक्षा दलमा परिणत भएको मुक्ति सेनाको सहयोगमा २००९ माघ ८ मा विद्रोह गरे । सिंहदरबारमा कार्यरत सिपाहीहरूलाई प्रभावमा लिई सिंहदरबार नै नियन्त्रण गरे । कसको बलमा केआई सिंहले सिंहदरबारबाट समानान्तर सत्ता चलाउने प्रयास गरे ? यो इतिहासकै गर्भमा छ ।
तर विश्वेश्वरप्रसाद कोइरालाले आफ्नो पुस्तक ‘आत्मवृत्तान्त’ मा यसबारे केही उल्लेख गरेका छन् । उनले लेखेका छन्–सिंहदरबार काण्ड गराएको पनि हौसला दिएको पनि मोहनशमशेर र हरिशमशेरले हो । केआई सिंह त्यहाँबाट गायब भयो, भाग्यो, भाग्यो। समात्न सकिएन। तिब्बत पस्यो। तिब्बतबाट पेकिङ गयो र त्यहाँ कति वर्ष बसेर फर्केर आयो। आउँदाखेरि ऊ हरिशमशेरको पाहुना भयो। बडो अचम्मको कुरो थियो। तिब्बतबाट आउँदा राजाले त्यसलाई यत्रो ठूलो स्वागतको व्यवस्था गराए, नाटकीय किसिमको व्यवस्था ।’ उपत्यका बाहिर जान दिने भए विद्रोह छोड्ने बताएपछि सोही अनुसार सिंहलाई छोडियो । सिंह आफ्नो विश्वासिलो समूहको साथ सिंहदरबार दक्षिण ढोकाबाट चुपचाप निस्किए । पचली टेकु हुँदै विष्णुमती नदीको किनारै किनारको बाटो केरुङ हुँदै ल्हासा–चेङ्दु हुँदै बेइजिङ पुगे । तर काठमाडौंबाट केरुङ्ग नपुग्दासम्मको अवधिमा सिंहलाई सरकारले पक्राउ गर्न सक्थ्यो ।
उपत्यका बाहिर जान दिने भए विद्रोह छोड्ने बताएपछि सोही अनुसार केआई सिंहलाई छोडियो । सिंह विश्वासिलो समूहकासाथ सिंहदरबारको दक्षिण ढोकाबाट चुपचाप निस्किए । पचली टेकु हुँदै विष्णुमती नदीको किनारै किनारको बाटो केरुङ,ल्हासा अनि चेङ्दु हुँदै बेइजिङ पुगे । चीन सरकारको शरण परे । केही समयपछि राजा महेन्द्रले केआई सिंहलाई माफी दिए । २०१२ भदौ २७ मा माफी पाएपछि उनी चीनबाट फर्किए । समर्थकले उनलाई सुन्दरी जलमा स्वागत गरी जिप चढाएर काठमाडौँ भित्र्याए । चीनबाट फर्केपछि संयुक्त प्रजातन्त्र पार्टी खोले । ‘संयुक्त प्रयास’ नामक पत्रिका पनि चलाए । २०१४ साउन ११ मा राजा महेन्द्रले केआई सिंहलाई प्रधानमन्त्री बनाए । सिंहदरबार कब्जा गर्न नसके पनि कालान्तरमा उनी सिंहदरबारको सत्तामा पुगे । भारतीय दबावमा रहेका राजा महेन्द्रले चीन निकट केआई सिंहलाई प्रधानमन्त्री बनाएको बुझ्न कठिन थिएन । उत्तरको बादशाहलाई खुसी पार्न पनि महेन्द्रले केआई सिंहलाई प्रधानमन्त्री बनाएर एउटा प्रयोग गरेको बुझ्न सकिन्छ । यो बेग्लै कुरा हो कि त्यतिबेला नेपाली कांग्रेसलाई ठेगान लगाउन पनि महेन्द्रले केआई सिंह कार्ड चलेका थिए । किनकि, सिंहदरबार विद्रोहपछि महेन्द्रकै सल्लाहमा केआई सिंह चीन प्रवासमा गएको दाबी गर्नेहरू पनि छन् । तर प्रधानमन्त्रीका रूपमा उद्दण्ड स्वभाव र अराजनीतिक हर्कत देखाउन थालेपछि २०१४ कात्तिक २९ मा राजा महेन्द्रले केआई सिंहलाई प्रधानमन्त्री पदबाट गलहत्त्याए । जसरी उनलाई प्रधानमन्त्री बनाइयो र चार महिना पनि नबित्दै बिदा गरियो त्यो आफैंमा अनपेक्षित घटना थियो ।
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले आफ्नो आत्मकथा ‘मेरा नौ दशक’ मा केआई सिंहलाई ‘अनपेक्षित प्रधानमन्त्री’ भनेर टिप्पणी गरेका छन् । थापाले लेखेका छन्–केआई सिंहलाई प्रधानमन्त्री बनाइनु एक किसिमको अनौठो घटना थियो । उनी र उनको पार्टीको के कति गहिरो धरातल र आधार छ भन्ने छर्लङ्गै थियो । उनी पूर्वविद्रोही नेता थिए । उनको चालचलन र रङ्गढङ्ग पनि सैन्य प्रकृतिको थियो । उनी अति अविश्वसनीय किसिमका पात्र थिए । त्यसैले सरकार बनेपछि गणेशमान सिङले बडो रमाइलो टिप्पणी गरेका थिए ‘यो ढाक्रेहरूलाई काम दिएको हो,यसको केही तुक छैन ।’
सोही पुस्तकमा थापाले अगाडि लेखेका छन्– ...सिंहको सरकार बनेको दिनदेखि नै विवादित भयो । कांग्रेस र कम्युनिष्टका कार्यकर्ताहरुले अधिनायकवाद ल्याइयो भन्दै नाराबाजी गरे । जनमानसले पनि केआई सिंहलाई विश्वास गर्न सकेको थिएन । मन्त्रीमण्डलमा तीन पागल सामेल गरियो भन्नेसम्म टिप्पणी गरियो । ती तीन जना कसलाई भनिएको थियो,खुलेको थिएन ।
सिंह राजनीतिक चरित्रका व्यक्ति थिएनन् । आफूलाई ठीक लागेको काम गरिहाल्थे । अन्य नेताहरूजस्तो जनमानस र कर्मचारीतन्त्रमा परिचित पनि थिएनन् । उनी प्रधानमन्त्री भएपछि राजनीतिक दल,कर्मचारी,व्यापारीमा एक प्रकारको त्रास सिर्जना भयो उनको कार्यशैली देखेर दरबार पनि सशकिंत हुन थाल्यो । सरकारका अन्य मन्त्री पनि राजनीतिक रूपमा दक्ष थिएनन् । त्यसैले सरकार बनेको केही साताभित्रै दरबारसँग उनीहरूको तालमेल नमिलेको प्रसङ्ग बाहिर आउन थालिसकेको थियो ।
थापाले लेखेका छन्–केआई सिंहको स्वभाव र गतिविधिका कारण सबै त्रस्त हुन थाले उनी रफ टाइप का मान्छे थिए । उनले कर्मचारी र ब्यापारीवर्गमा हमला गरे । कर्मचारी जति सबै भ्रष्ट,व्यापारी जति सबै मुनाफाखोर भन्ने चिन्तनले काम गर्न थाले । भ्रष्ट कर्मचारी वा मुनाफाखोर व्यापारी को हो भन्ने अनुसन्धान गरी कारबाही गर्न कानुन बनाएर त्यसअनुरूप चल्नुपर्नेमा ठाडो कारबाही गर्न थाले । उनको यस्तो रवैयाले देशमा तहल्का मच्चियो । समष्टिमा सरकारको प्रतिबिम्ब आतकंकारीको जस्तो बन्यो राजासँग पनि तौरतरिका र तालमेल मिलेन । भेटघाटमा राम्रोसँग कुरा हनु नसकेपछि नरशमशेर पठाएर कुरा गर्नुपर्ने परिस्थिति बन्यो ।
यस्ता सरकार आयु जति लम्बायो,त्यति समस्या मात्रै हुन्थ्यो । त्यसैले गठन भएको तीन महिना १८ दिनमा २०१४ कात्तिक २९ कादिन राजाले मन्त्रीमण्डल विघटन गरे । हुन त सिंहले देशको परिस्थिति सम्हाल्न कतैबाट सहयोग मिल्न नसकेकाले बाध्य भई राजीनामा दिएको उल्लेख गरेका छन् तर उनकै सरकार सञ्चालन शैलीमा चित्त नबुझेर राजाले विघटन गरेको जगजाहेर थियो ।
यसरी अकस्मात् आइलागेको प्रधानमन्त्री पदबाट अकस्मात् नै केआई सिंहको बहिर्गमन भयो । त्यसपछि नेपाली राजनीतिमा धेरै आरोह अवरोहहरू आए । राजनीतिमा केआई सिंह ओझेल परे । नयाँ खेलाडीहरू देखा परे । एकै पटक २०२७ मा डोटीबाट निर्वाचित भएर राष्ट्रिय पञ्चायत सदस्य भए–केआई सिंह । २०३७ को जनमत संग्रहपछि २०३८ मा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भए । बहुदलको पक्षमा छु भन्दै प्रचारबाजी गर्ने केआई सिंह अन्ततः सुधारिएको पञ्चायतको पक्षमा उभिन पुगे । उनी फेरि एकपल्ट प्रधानमन्त्री हुन चाहन्थे । सायद नियतिले दोस्रो पटक प्रधानमन्त्री पदमा पुग्ने उनको बाटो बन्द गरिसकेको थियो । नेपाली राजनीतिमा उनी प्रधानमन्त्रीकालागि त्यति बेलै अयोग्य भैसकेका थिए,जति बेला उनी प्रधानमन्त्री थिए ।
बिपीले आफ्नो पुस्तक आत्मवृतान्तमा सिंहलाई दम्भीको संज्ञा दिएका छन् । केआई सिंहको व्यक्तित्व कहिले रहस्यमय त कहिले सिनेमाको नायक जस्तो लाग्ने अनौठो थियो । उनको हात कि जुँगामा कि बन्दुकमा हुन्थ्यो । जुँगा मुसारिरहन्थे । राइफल सुमसुम्याइ रहन्थे । कडा स्वभावका यिनले प्रधानमन्त्री भएकै बेला सचिव लगायत केही कर्मचारीहरूलाई हातपातसम्म गरेका थिए । अत्यन्तै उद्दण्ड स्वभावका भए पनि पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाकै शब्दमा केआई सिंह–असल,इमानदार, निष्ठावान् र राष्ट्रभक्त थिए । एउटा झोला र चप्पलसँग सिंहदरबार छिरेका उनी त्यही झोला र चप्पलसँगै बाहिरिएका थिए । भूमि पुनरवितरण योजनालाई अघि बढाउन सकेकाले ‘रबिन हुड अफ द हिमालय’ बाट उनी प्रसंसाको पात्र बनेका थिए । त्यसबेला चर्चाको धुरीमा रहेका केआई सिंहको कार्यशैली र अन्दाजलाई लिएर अनेक किम्बदन्ती समेत बने । उनी भाषण, अन्तरवार्ता र अन्य कुराकानीका क्रममा पनि चर्को बयानबाजी गरिरहन्थे ।
होमियोप्याथीका डाक्टर केआई सिंहलाई घाँटीको क्यान्सर भयो । बैंककमा उनको उपचार भइरहेको थियो । तर बिडम्बना २०३९ असोज १९ मा उनको निधन भयो । उनको मृत्युमा अमेरिकाबाट न्यूयोर्क टाइम्सले लेख्यो, ‘मुठे जुँगा पाल्ने, बलियो शरीरका केआई सिंह नेपालीमाझ लोकप्रिय थिए । राणातन्त्र विरुद्धको संघर्षका दौरान किसानलाई जमिन बाँड्न थालेपछि ‘हिमालयको रविनहुड’ को उपनाम कमाए....।’
निधन हुँदा केआई सिंहको उमेर ७६ वर्ष थियो । र,उनको नामको अगाडि थपिएको थियो–स्वर्गिय डाक्टर केआई सिंह । नामको अगाडि स्वर्गीय लगाउनु पिडा दायी पल हो । तर मृत्युको निम्तो आखिर अहिलेसम्म कसले पो अस्वीकार गर्न सकेको छ र ! केआई सिंह अपवाद हुने कुरा थिएन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।