तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा नारेश्वर ताल निर्माणको काम थालिएको छ । कृत्रिम ताल निर्माणका लागि बाँधको भित्तो काट्ने काम सुरु भएको हो ।
व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा निर्माण हुन लागेको उक्त कृत्रिम तालको बाँध निर्माणअन्तर्गत भित्तो काट्ने कार्यको सुरुआत गरिएको छ । पर्यटन, कृषि र रोजगारीलाई जोड्ने उद्देश्यका साथ नारेश्वर ताल निर्माण गर्न लागिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । कृत्रिम ताल सिचाइ, मत्स्यपालनका साथै पर्यटनमार्फत आयआर्जन गर्ने लक्ष्य छ ।
ताल निर्माणका लागि चालू आर्थिक वर्षमा गण्डकी प्रदेशको ताल संरक्षण प्राधिकरणमार्फत दश लाख रुपैयाँ, व्यास नगरपालिकाबाट ५० लाख र गण्डकी प्रदेश सरकारबाट एक करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । ताल निर्माणका लागि जिएस निर्माण सेवासँग एक करोड ८४ लाखमा आव २०७९/८० असारमा ठेक्का सम्झौता भएको इन्जिनियर जगन्नाथ चापागाईँले जानकारी दिए ।
इन्जिनियर जगन्नाथ चापागाईँले उनले भने, ‘सम्झौताअनुसार एक वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने हो । तर, सर्भेका कारण ढिलाइ भयो । भर्खर मात्र ताल निर्माणका लागि कटिङको काम सुरु गरेका छौँ ।’
उनका अनुसार आव २०८०/८१ को असार मसान्तमा कृत्रिम ताल निर्माण सम्पन्न हुनेछ । नगरपालिकाले ताल निर्माणका लागि करिब २५ रोपनी जग्गा अधिग्रहण गरेको छ । आन्तरिक एवं बाह्य पर्यटकलाई जलविहार गराउने उद्देश्यले ताल निर्माण गर्न लागिएको नगर प्रमुख न्यौपानेले बताए । उनका अनुसार ताल निर्माणका लागि दुम्सीचौर क्षेत्रका २० परिवारको जग्गा अधिग्रहण गरिएको छ । सो बापत उनीहरूलाई एक करोड ३७ लाख ६० हजार रुपैयाँ वितरण गरिएको छ ।
उपभोक्ताको २५ र ऐलानी जग्गा करिब २० रोपनी गरी कूल ४५ रोपनी क्षेत्रफलमा ताल निर्माण गर्न गरिनेछ । देवीडाँडा पर्यटन प्रवर्द्धन विकास समिति र नारेश्वर ताल पर्यटन प्रवर्द्धन विकास समिति बनाएर वडालाई कृषि एग्रो पर्यटकीय क्षेत्र बनाउन लागिएको छ । पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक पर्यटकीय स्थल देवीडाँडामा वनभोजस्थल र भ्यू टावर निर्माण गरेर फूल फूलको बगैँचा बनाउने योजना बनाइएको छ । उक्त स्थानबाट सिधै फुड ट्र्याक बनाएर खहरेस्थित छाङ्गा बाराही मन्दिर जोड्ने लक्ष्य छ ।
व्यास मार्ग हुँदै पर्यटक छाङ्गा बाराही मन्दिरको अवलोकनपश्चात् निर्माण गरिएको सिँढी चढ्दै देवीडाँडा पुग्न सकिनेछ । देवीडाँडामा निर्माण गरिएको भ्यू टावरबाट दृश्यावलोकनपश्चात् दुम्सीचौरस्थित कालिका मन्दिरको दर्शन गरी थालीडाँडा घरबास (होमस्टे)मा पुगेर बास बस्ने व्यवस्था मिलाइने छ । यहाँबाट बन्दीपुर, दमौली, फराकचौर, गजौडे, मादी, दरबार, मिर्लुङकोट, क्यामिनकोट, मानुङकोट र गलेखामकोटलगायत स्थानको अवलोकन गर्न सकिन्छ ।
नारेश्वर तालमा जलविहार गराई तालघरे मार्ग हुँदै पृथ्वी राजमार्गमा पुगेर पर्यटक गन्तव्यमा पुग्न सक्नेछन् । तालमा डुङ्गा चलाउने, तालको दायाँबायाँ कटेज तथा फुड ट्रयाकलगायतका संरचना निर्माण गरिनेछ । नारेश्वर खोलाको पानी थुनेर ताल निर्माण गरिनेछ । तालको तीन सय मिटर लम्बाई र चौडाई ४० देखि ७० मिटर रहने छ । तालको गहिराइ दुई दशमलव पाँचदेखि तीन मिटर हुनेछ । आठ मिटर उचाइको बाँध बाँधिने इञ्जिनियर चापागाईँले बताए ।
तालमा ३० हजार घनमिटरसम्म पानी संकलन गर्न सकिनेछ । स्थानीय पदम दरैले ताल निर्माण भएपछि पर्यटकको आगमन बढ्ने बताए । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।