प्रतिनिधिसभा बैठक : सरकारले सांसदको कुरा नसुनेको गुनासो [लाइभ]

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठक जारी छ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दलले यसअघिका बैठकमा उठाएका विषयमा सरकारले बेवास्ता गरेको भन्दै संसदको पुनः ध्यानाकर्षण गराएको छ । 

एमाले प्रमुख सचेतक पदम गिरीले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न संसदमार्फत् सरकारको ध्यानाकर्षण गराए । इपिएस कोरियाका विद्यार्थीले गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्र गरेको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको थियो ।  

साथै सो आन्दोलनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो । उक्त घटनाबारे यथार्थ पत्ता लगाएर दोषीलाई कारबाहीको माग गरिएको हो । 

त्यसैगरी लुम्बिनीस्थित रामग्राम क्षेत्रलाई भाडामा लगाउने गरी भएको सम्झौताको पनि प्रतिपक्षले विरोध जनाएको छ । त्यस्तै, मिटर ब्याजपीडित तहले काठमाडौँमा प्रदर्शन गरिरहेको विषयमा पनि प्रमुख प्रतिपक्षले सरकारसँग जवाफ माग गरेको छ । लम्पी स्किन रोगका कारण पशु चौपाया मरेका किसानलाई सरकारले क्षतिपूर्ति दिने भनेकोमा हालसम्म उपलब्ध नगराएको विषय पनि प्रमुख सचेतक गिरीले उठान गरे ।  

प्रतिपक्ष दलहरूले यसअघिका बैठकमा उठाएका माग सम्बोधन गर्न संसदबाट रुलिङ भइसकेको सभामुख देवराज घिमिरेले उल्लेख गरे । ‘सरकारको उपस्थितिमा संसद सञ्चालन हुने व्यवस्था छ । विषयगत मन्त्रालयका मन्त्रीहरू संसदमा उपस्थित हुनुहुन्छ र उहाँले जवाफ दिनुहुन्छ । हरेक दिन एउटै विषयमा निर्देशन दिइरहनु वाञ्छनीय हुँदैन । प्रधानमन्त्री उपस्थित भएर जवाफ दिनुपर्ने भन्ने प्रतिपक्षको मागबारे संसदको ध्यानाकर्षण भएको छ’, सभामुख घिमिरेले भने । 

आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।



त्यसैगरी, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 



  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १२:४४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया