logo-img

राष्ट्रिय सभा अध्यक्षमा होड : सिटौलाका नाममा कांग्रेसको जोड

नेपाली कांग्रेसका बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसले पाउनुपर्नेमा जोड दिएका छन् । आइतबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भेला भएका उनीहरूले कांग्रेसभित्रबाटै राष्ट्रिय सभा अध्यक्ष चयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसबाटै हुने बताए । राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले अध्यक्षमा कांग्रेसको दाबी रहने उल्लेख गर्दै प्रतिनिधिसभाभन्दा राष्ट्रिय सभा फरक भएकाले विधि र विधेयकमै राष्ट्रिय सभा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटाले आफूहरूले सधैँ राष्ट्रिय सभालाई राम्रो बनाउनेमा केन्द्रित भएको जानकारी दिइन् । कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण सिटौलाले अन्य पार्टीहरूको भन्दा कांग्रेसको दायित्व बढी भएकाले जनताप्रति समर्पित भएर काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बहालवाला राष्ट्रिय सभा सदस्य कमला पन्त, अनिता देवकोटा, कृष्णप्रसाद पौडेल, दुर्गाकुमारी गुरुङ, नारायणदत्त मिश्र र युवराज शर्माले संसदीय अनुभव सुनाए । 

त्यस्तै, नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू सिटौला, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजंग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया र बलदेव बोहराले राष्ट्रिय सभाको गरिमालाई उच्च राख्ने, कानुन निर्माणमा सक्रियता साथै जनताका माग र अपेक्षा सम्बोधन हुनेगरी निष्ठाका साथ कार्य गर्ने प्रतिबद्धता जनाए ।

कांग्रेसले सिटौलालाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारका रूपमा उभ्याउने तयारी गरेको छ । सत्ता गठबन्धनबाट माओवादी र एकीकृत समाजवादीले पनि राष्ट्रिय सभा अध्यक्षमा दाबी रहने बताउँदै आएका छन् । यद्यपि, सिटौलालाई अध्यक्ष बनाउन माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल पनि तयार रहेको बताइन्छ । 





  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया