भारतको ‘मिसन शक्ति’ले अन्तरिक्षमा ४०० टुक्रा फोहोर बढायो –नासा

एजेन्सी– अमेरिकी स्पेस एजेन्सी नासाले भारतको ‘मिसन शक्ति’ अन्तरिक्षका लागि खतरनाक भएको बताएको छ । 

नासा प्रमुख जिम ब्रेडेन्सटाइनले आफ्ना कर्मचारीलाई गरेकाे सम्बोधनमा मिसन शक्तिलाई उल्लेख गर्दै अन्तरिक्षमा फाेहाेर बढ्दै गएकाे र यसले भविष्यमा खतरा निम्त्याउन सक्ने बताएका हुन् । 

भारतकाे एन्टि–स्याटेलाइट मिसाइल परीक्षणले अन्तरिक्षमा फोहोरका ४०० टुक्रा अरु बढेको छ । यी टुक्राहरु अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आइएसएस) र अन्तरिक्ष यात्रीका लागि निकै खतरनाक साबित हुन सक्छ । 

ब्रेडेन्सटाइनले भनेका छन् ‘सबै टुक्राहरु ट्रयाक गर्न सकिने गरी धेरै ठूला पनि छैनन् । हामी १० सेन्टीमिटरभन्दा ठूला टुक्राहरुमाथि निगरानी गरिरहेका छौं । अहिलेसम्म ६० टुक्रा भेटिएको छ ।’ 

‘भारतको ए–सेट मिसाइलले जमिनबाट ३०० किलोमिटरको दुरीमा रहेको एक स्याटेलाइटलाई टारगेट गरेको थियो । जुन आइएसएसभन्दा धेरै तल थियो । तर नासा प्रमुखका अनुसार फोहोरका २४ टुक्रा आइएसएसभन्दा माथि पुगेका छन्, जुन बढी खतरनाक छ ।’ ब्रेडेन्सटाइनले भने ‘यस्तो गतिविधिले भविष्यमा हुने अन्तरिक्षको उडान प्रभावित हुन्छ, अन्तरिक्षको वातावरण उडान अनुकुल हुँदैन ।’

अब यस्तो स्वीकार्य नहुने र यसको प्रभावबारे नासाले स्पष्ट कुरा राख्न जरुरी रहेको ब्रेडेन्सटाइनको भनाइ थियो । 



नासा प्रमुखले भारतको मिसनबाट ती टुक्राहरु आइएसएससँग ठोक्किने सम्भावना ४४ प्रतिशतले बढेको बताए । तर विस्तारै विस्तारै यी टुक्रा सकिँदै जाँदा यो खतरा पनि कम हुन्छ । 

सञ्चारमाध्यमका अनुसार अमेरिकी सेना अन्तरिक्षमा आइएसएस वा कुनै स्याटेलाइटसँग ठोक्किन सक्ने खतरा रहेका अब्जेक्ट्सको खोजीमा रहेको छ । अहिलेसम्म २३ हजार टुक्रा पत्ता लगाइसकिएको छ, जुन १० सेन्टिमिटरभन्दा ठूला छन् । 



भारतले एन्टी–स्याटेलाइट मिसाइल परीक्षण गरेपछि अमेरिकी कार्यवाहक रक्षामन्त्री प्याट्रिक सानाहानले यस्तो परीक्षणले अन्तरिक्षमा फोहोर बढाउने भन्दै चेतावनी दिएका थिए तर भारतले अन्तरिक्षमा फोहोर नबसोस् भनेर कम उचाइमा परीक्षण गरेको बताएको थियाे। 

भारतले गएकाे हप्ता एक मिसाइल प्रयोग गरी आफ्नै एक सानो भू–उपग्रहलाई गिराएको थियो । अमेरिका, रुस र चीनपछि यस्तो परीक्षण गर्ने भारत चौँथो देश हो । 

  • प्रकाशित मिति : चैत १९, २०७५ मंगलबार १०:५२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया