पूर्वफुटबलर तथा नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले नेपाली क्रिकेट क्षेत्रले गरेको प्रगतिको प्रशंसा गर्दै फुटबल क्षेत्रले पाठ सिकेर अवस्था सुधार गर्नुपर्ने बताएका छन् ।
उनले क्यानले खेलाडीलाई दिएको सेवा सुविधाबारे उल्लेख गर्दै फुटबल खेलाडीको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीको सेवा सुविधाको बारेमा गम्भीर भएर सोच्नुपर्ने बेला भएको बताए ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष लामाले नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलाडीलाई केन्द्रीय सम्झौता दिनेक्रममा वर्ग विभाजन गर्दै मासिक १ लाख रुपैयाँसम्मको तलबको व्यवस्था गरेकोप्रति खुसी व्यक्त गरे ।
साथै, उनले क्रिकेट संघले केही महिना अघि मात्र पाएको नयाँ नेतृत्व र लामो समय राष्ट्रिय टोलीको नेतृत्व गरेका खेलाडीसहित अधिकांश पुरानै पदाधिकारी एकजुट भएर लाग्दा भएको नेपाली क्रिकेटको प्रगतिलाई फुटबल क्षेत्रले उदाहरण मानेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
‘मैदानभित्रको अवस्था प्रष्ट बुझेको र मैदानबाहिर अभिभावकत्व दिने व्यक्तित्व एकसाथ आउने हो भने प्रगति हुन्छ भन्ने यो नेपाली खेलकुदको लागि क्रिकेटको प्रगति राम्रो उदाहरण हो,’ लामाले भनेका छन् ।
क्रिकेटको प्रगतिले फुटबल खेलाडी, प्रशिक्षक र संघमा पनि सकारात्मक प्रतिस्पर्धाको भाव संचय हुने आफूले विश्वास गरेको भन्दै लामाले फुटबल क्षेत्रको विकासका लागि गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको उल्लेख गरेका छन् ।
‘तथ्यांककै हिसाबमा हेर्ने हो भने सरदर हेर्दा क्रिकेटभन्दा फुटबलले अन्तर्राष्ट्रिय निकायबाट बढी पैसा प्राप्त गर्छ,बढी प्रतियोगिता हुन्छन्, बढी दर्शक उपस्थित हुन्छन्, बढी खेलाडी छन् र प्रयोजनलगायत अन्य पक्षमा पनि अघि नै छ । तर, आज क्यानको क्यालेन्डर र खेलाडीलाई दिइएको सुविधा हेर्दा, हामीले फुटबलमा एकपटक गम्भीर रुपमा सोच्ने समय आएको हो कि भन्ने आभास भएको छ,’ लामाले लेखेका छन् ।
एन्फाद्वारा प्रकाशित क्यालेन्डरमा युवा खेलाडीको विकासका लागि भन्दै राखिएका कार्यक्रम हेर्दा खुशी लागे पनि घरेलु फुटबलको प्रतियोगिता सञ्चालनको समयान्तर फलदायी नदेखिएको भन्दै क्रिकेटबाट सिकेर फुटबलको अवस्था सुधार गर्नुपर्ने धारणा लामाको छ ।
‘राम्रो कुरा अरूबाट सिक्नुपर्छ, हामीले पनि क्रिकेटको सफलतालाई नजिकबाट नियालेर आफ्नो अवस्था सुधार गरौं,’ उनले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।