कुनै बेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रूपमा स्थापित रत्नपार्कको परिचय अहिले फेरिएको छ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा करिब ८० लाख रुपैयाँको लागतमा पुनः निर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको हो । अहिले रत्नपार्कमा वृद्ध वृद्धा घाम ताप्नदेखि युवायुवती तस्बिर खिच्न र रमाउन पुग्ने गरेका छन् ।
रत्न राज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत विवेक अधिकारी रत्नपार्कभित्र घुम्न र तस्बिर खिच्न आएको बताए । उनले भने, ‘विद्यार्थी कार्ड देखाएपछि २० रुपैयाँमा पार्कभित्र छिर्न पाइन्छ, यहाँ आएपछि बाहिर निस्कन मन नै लाग्दैन ।’
यस्तै बागबजारमा बस्ने ६७ वर्षीय शुकदेव श्रेष्ठले पनि घाम ताप्नका लागि पार्कभित्र आएको बताए । ‘घरमा कति बस्ने, पार्कभित्र बस्ने ठाउँ पनि छ, घाम ताप्न पनि पाइयो, रुख बिरुवाको स्वच्छ हावा पनि खान पाइन्छ, त्यसैले फुर्सद भएको बेलामा रत्नपार्क आउने गरेको छु’, उनले भने ।
यस्तै असनका सानुकाजी ताम्राकार पनि घाम ताप्न र दिन काट्नका लागि रत्नपार्कभित्र आएको बताए ।
माथिका केही प्रतिनिधिमूलक पात्र मात्र हुन् दैनिक हजारौं व्यक्ति रत्नपार्कभित्र घुम्न र आनन्द लिनका लागि छिर्ने गर्छन् ।
काठमाडौं महानगरपालिकाअन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाद्वारा हाल सञ्चालनमा रहँदै आएको रत्नपार्कलाई शङ्खधर पार्कका रूपमा समेत चिनिँदै आएको छ । काठमाडौं महानगरपालिकाले विसं २०७२ असार १५ देखि रत्नपार्क प्रवेशमा शुल्क लिने व्यवस्था गरेको थियो ।
महानगरपालिकाले रत्नपार्कबाट हाल वार्षिक झण्डै एक करोड रुपैयाँ आम्दानी गर्दै आएको छ । शङ्खधर उद्यान तथा रानीपोखरी एकाइ (रत्नपार्क)का प्रमुख उमेश भण्डारीले रत्नपार्कबाट चालू आवको फागुन १४ सम्म ५७ लाख ९१ हजार सात सय ६० रुपैयाँ शुल्क आम्दानी गरेको बताए ।
रत्नपार्कभित्र प्रवेश गर्नका लागि विद्यार्थीले २० रुपैयाँ, सर्वसाधारणले ३० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । यस्तै व्यक्तिगत क्यामेरा लिएर भित्र प्रवेश गर्नेले एक सय रुपैयाँ, विदेशी पर्यटक जाँदा एक सय, दोहोरी गीत म्युजिक भिडियो सुटिङ गर्न जानुपरेमा पाँच हजार रुपैयाँ, विवाह फोटो सुटका लागि पाँच सय रुपैयाँ, व्यावसायिक रूपमा फोटो खिच्नेले एक हजार पाँच सय रुपैयाँ र सांस्कृतिक पोसाक झल्काउन जानेले एक सय रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ ।
चालू आवको साउनदेखि पुस मसान्तसम्म रत्नपार्कमा ४२ हजार छ सय ४२ विद्यार्थी, एक लाख २१ हजार तीन सय नौ सर्वसाधारण, तीन सय ३३ विदेशी पर्यटक, नौ म्युजिक भिडियो सुटिङ, तीन सय ८७ व्यावसायिक क्यामेरा, चार विवाह फोटो सुट र तीन सांस्कृतिक पोसाक झल्काउने व्यक्ति रत्नपार्कभित्र प्रवेश गरेका छन् ।
शङ्खधर उद्यान तथा रानीपोखरी एकाइ (रत्नपार्क) का अनुसार साउन महिनामा ३० हजार एक सय ४६, भदौमा २७ हजार एक सय ४३, असोजमा २२ हजार दुई सय २९, कात्तिकमा १६ हजार दुई सय ४५, मङ्सिरमा १९ हजार आठ सय ५०, पुसमा २४ हजार एक सय ८९, माघमा २६ हजार १५ र फागुन १४ गतेसम्म १६ हजार एक सय ४१ जना प्रवेश गरेका छन् ।
रत्नपार्कको सुरक्षाका लागि खटिएकी नगर प्रहरी नायब निरीक्षक ज्योति पोखरेल रत्नपार्कभित्र दैनिक आठदेखि एक हजार दुई सय व्यक्ति घुम्न आउने गरेको बताइन् । रत्नपार्कभित्र मानिस घाम तापेर सुखदुःखका गफ गर्ने, स्कुलका विद्यार्थीले खेल्ने, युवायुवती फोटो खिच्न तथा रमाउनका लागि आउने गरेको उनको भनाइ छ ।
रत्नपार्कभित्र बस्नका लागि सेट बक्स र कुर्चीको व्यवस्था गरिएको छ । यहाँ सार्वजनिक शौचालयसमेत रहेको छ । यस्तै पार्कभित्र शङ्खधरको सालिक, पद्मरत्न तुलाधरको सालिक, युनिगार्डेनलगायत रहेको शङ्खधर उद्यान तथा रानीपोखरी एकाइ (रत्नपार्क) ले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।